प्रदेश सभामा तीन बिधेयक पेश

गुगलपाटी संवाददाता हेटौंडा,१७ भदौ
१७ भाद्र २०७५ १३:२९

 

हेटौंडामा रहेको प्रदेश नम्बर ३ को प्रदेश सभा बैठकमा दुई विधेयक दफावार छलफलपछि पेश भएका छन् ।
विषयगत समितिमा पठाईएका दुई विधेयक दफावार छलफलपछि आइतबारको प्रदेशसभा बैठकमा प्रतिवेदनसहित पेश भएको हो । प्रदेश मामिला समितिका सभापति माधव पौडेलले प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति घनश्याम दाहालले प्रदेश दुग्ध विकास बोर्डको स्थापना र व्यवस्था गर्न बनेको विधेयक समितिको प्रतिवेदनसहित संसदमा पेश गरेका छन् ।

यसरी नै ३ वटा विधेयक विषयगत समितिमा दफावार छलफलका लागि पठाउने सर्वसम्मत निर्णय गरेको छ । बैठकले आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलद्वारा पेश गरिएको प्रदेश संस्था दर्ता सम्बन्धमा कानूनी व्यवस्था गर्न बनेको विधेयक र प्रदेश विपद व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दफावार छलफलका लागि समितिमा पठाउने निर्णय गरेको छ । सामाजिक विकास मन्त्री युवराज दुलालद्वारा पेश गरिएको प्रदेश स्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक समेत समितिमा छलफलका लागि पठाईएको छ ।

सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभा नियमावली संशोधन मस्यौदा समितिको म्याद पुनः १५ दिन थप्ने निर्णय भएको प्रदेशसभा बैठकमा जानकारी गराएको संसद सचिवालयले जनाएको छ ।