स्थानीय पत्रपत्रिकाः प्रदेश सभामुखलाई मासिक ७० हजारको सेवा सुविधा, अस्पतालले नै हराइदिन्छन् बिमा कार्ड

गुगलपाटी संवाददाता हेटौंडा
१८ भाद्र २०७५ ०१:१७

हेटौंडाबाट प्रकाशित हुने दैनिक पत्रिकाले आज फरकफरक बिषयलाई आफ्नो मुख्य समाचार बनाएर छापेका छन् ।

आजको साझाकुरा दैनिकमा ३ नम्बर प्रदेशका सभामुखलाई पारिश्रमिकसहित मासिक ७० हजारभन्दा बढी सुविधा दिने प्रस्ताव पारित भएको समाचार पहिलो पृष्ठमा छापेको छ । सभामुखको मासिक पारिश्रमिक ५३ हजार तोकिएको छ । अतिथि सत्कार, सञ्चार सुविधा, निजि सचिवालयलगायतको व्यवस्थापनबापत गरी सभामुखले मासिक ७० हजारभन्दा बढी बुझ्नेछन् । त्यसैगरी उपसभामुख र विपक्षी दलको नेताको मासिक पारिश्रमिक ५० हजार तोकिएको छ । उनीहरुले पनि अन्य सुविधासमेत गरेर मासिक ६० हजारभन्दा बढी बुझ्नेछन् ।

त्यसैगरी आजको हेटौंडा सन्देश दैनिकले अस्पतालले नै स्वास्थ्य बिमा कार्ड हराइदिने गरेको सेवाग्राहीको गुनासो सम्बन्धी समाचार पहिलो पृष्ठमा छापेको छ । अस्पतालमा उपचार गर्न जाँदा स्वास्थ्य बिमा कार्ड हराइदिने गरेको सेवाग्राहीले गुनासो गरेका छन् । उपचारको क्रममा कार्ड काउन्टरमा जिम्मा लगाउनुपर्ने भए पनि उपचार सकिएर माग्दा हराइदिने गरेको सेवाग्राहीको भनाइ छ । बिमा कार्ड हराइदिँदा बिमा बार्डबाट नयाँ कार्ड बनाउनुपर्ने झन्झट बेहोर्नुपरेको उनीहरुको गुनासो छ ।

आजको समृद्ध समाज दैनिकले महिला अधिकारबारे हेटौंडामा भएको छलफलसम्बन्धी समाचारलाई छापेको छ । महिला अधिकार महासन्धीको छायाँ प्रतिवेदन तयारी समितिको प्रदेशस्तरीय छलफल तथा सुझाव संकलन कार्य हेटौंडामा भएको छ । छैठौं आवधिक प्रतिवेदनको छायाँ प्रतिवेदनमा ३ नम्बर प्रदेशका सरोकारवालाको सुझाव संकलन गर्न महिला अधिकारकर्मीहरु हेटौंडा आएका हुन् ।

आजको प्रदेश दैनिकले प्रदेशसभाको ३ बिधेयक सम्बन्धित समितिमा पठाइएको समाचार पहिलो पृष्ठमा छापेको छ । प्रदेश संस्था दर्ता सम्बन्धमा कानूनी व्यवस्था गर्न बनेको विधेयक, प्रदेश विपद् व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश स्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभाको सम्बन्धित समितिमा छलफलको लागि पठाइएको हो ।

हेर्नुहोस् हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाका पहिलो पृष्ठ