नयाँशक्तिका प्रस्तावित उम्मेदवार नै माओवादी केन्द्रमा

गुगलपाटी संवाददाता
१२ कार्तिक २०७४ ०७:४५

गोर्खा गृहजिल्ला भएका नेता–कार्यकर्ताले धमाधम पार्टी परित्याग गर्न थालेपछि नयाँशक्तिका संयोजक बाबुराम भट्टराईको चुनावी अभियान संकटमा पर्न थालेको छ।

आइतबारमात्र पार्टीका अर्का नेता नयाँशक्ति परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

नयाँशक्तिका केन्द्रीय परिषद सदस्य बासु पोखरेल पार्टी परित्याग गरी माओवादी केन्द्रमा फर्किएका हुन्।

गोर्खा सिरानचोकका पोखरेल नयाँशक्तिका तर्फबाट काठमाडौँ ५ मा प्रतिनिधिसभाका लागि प्रस्थावित उम्मेदवार समेत थिए।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट टीका लगाएर प्रवेश गरेका पोखरेलले भट्टराईले केही गर्ने विश्वासका साथ विगतमा माओवादी केन्द्र छाडेपनि नयाँशक्ति अस्तित्वरक्षाको चरणमा पुगेपछि माओवादी केन्द्रमा फर्किएको बताए।

अध्यक्ष प्रचण्डले आफ्नै क्रियाकलापका कारण भट्टराई निरन्तर अप्ठेरोमा पर्दै गएको बताए।

पोखरेललाई पार्टीमा फिर्ता गराउन भूमिका खेलेका गोरखा २ का माओवादी केन्द्रका उम्मेदवार नारायणकाजी श्रेष्ठले वाम गठबन्धनले जितेमामात्र देशमा स्थिरता र सम्बृद्धि हुने बताएका थिए।

साथै उनले गोरखाबाट दिनहुँ माओवादी केन्द्रमा फर्कने क्रम बढिरहेको दावी पनि गरेका थिए।

शनिवारमात्र गोरखा २ मा पर्ने पालुङटार नगरपालिकामा नयाँशक्तिबाट निर्वाचित जनप्रतिनिधि र उम्मेदवारहरुसहित करिव २ सय जनाको एउटा समूह माओवादी केन्द्र फर्किएको थियो।

त्यसअघि नयाँशक्तिका केन्द्रीय प्रतिनिधि परिषद सदस्य जीतबहादुर घले, तमु परिषदका केन्द्रीय सहइन्चार्ज आनन्दबहादुर घलेसहित झण्डै दुई दर्जन नेताकार्यकर्ता नयाँशक्ति परित्याग गरी माओवादी केन्द्र प्रवेश गरेका थिए।