पहिचान बिरोधी राज्य र नेपालका बिरोधी : नबीन

गुगलपाटी संवाददाता हेटौंडा,३० भदौ
३० भाद्र २०७५ १५:०७

नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष नवीन रोक्का मगरले पहिचान बिरोधी पक्ष राज्य र नेपाल बिरोधी भएको आरोप लगाएका छन् । राज्यका सबै जातजातिबिच समानता नचाहने पक्ष हावी भएसम्म नेपाल समुन्नत नबन्ने समेत उनले ठोकुवा गरे ।

नेपाल मगर युवा संघको तेस्रो राष्ट्रिय महाधिवेशनको शनिबार हेटौंडामा उद्घाटन गरे पछि उनले अझै पनि जाति अनुसार हैसियत मापन पर्ने गलत सोच रहेकोमा आक्रोश पोखे । पार्टी भन्दा माथि उठेर जाति, संस्कार, संस्कृति संरक्षणमा लाग्न उनले युवा पुस्तालाई आग्रह समेत गरे । ‘हामीलाई पार्टीले जन्माएको कि जातिले ?’ प्रश्न गर्दै उनले थपे, ‘रगत र नश्ललाई बिर्से जिउदै लास बन्छौं ।’

तीन नम्बर प्रदेश सांसद प्रेमबहादुर पुलामीले नेपाल एकीकरणपछि जनजातिहरुले हकअधिकार गुमाउँदै गएको भन्दै गुनासो पोखे । कुनैपनि प्रदेशको नाम पहिचानको आधारमा नहुने दाबी गर्दै उनले कहि पनि उत्पीडित, दमित बर्गलाई अग्राधिकार पनि पाउने सम्भावना नरहेको बताए । चुनाबका बेला पार्टीको भयाङ्ग बन्नुपर्ने र त्यसपछि युवकहरु खाडीमुलुक जानुपर्ने बाध्यता जारी रहेकोमा दुःखेसो पोखे ।

नेपाल मगर संघका पूर्व केन्द्रिय सदस्य कुश थापा मगर, जिल्ला सल्लाहकार शान्तध्वज राना, सामुदायिक रेडियो प्रसारक संघ नेपालका केन्द्रिय सदस्य मिलन गाहा नगर लगायतले खोला, हिमाल, पहाडले पहिचान नमागेको भन्दै जातीय पहिचानकै आधारमा प्रदेशको नाम राख्नुपर्नेमा जोड दिएका थिए ।

नेपाल मगर युवा संघका केन्द्रीय अध्यक्ष अशोक सारु मगरको सभाध्यक्षतामा भएको महाधिवेशनमा ५५ जिल्लाका तीनसय ५० जना प्रतिनिधि पर्यवेक्षक सहभागी छन् । ‘मगरात प्रदेश सुनिश्चितताको लागि मगर युवाको अडान, समृद्ध नेपाल र युवाको पक्षमा तेस्रो राष्ट्रिय महाधिवेशन’ नाराका साथ आईतबारसम्म चल्ने महाधिवेशनले नयाँ कार्यसमिति समेत चयन गर्ने बताईएको छ ।