स्थानीयको लगानीमा टिष्टुङ महोत्सव हुने
गुगलपाटी संवाददाता थाहानगरपालिकामकवानपुरको थाहा नगरपालिका बज्रवाराही (टिष्टुङ) मा संचालन हुने महोत्सवका लागि स्थानीयहरुले नै लगानी गरेर शुरु गर्ने भएका छन् । टिष्टुङको ऐतिहाँसिक तथा पर्यटकीय ‘प्रडक्ट’लाई प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको महोत्सव मूल आयोजक समारोह समिति २०७५ का संयोजक इन्द्र बहादुर श्रेष्ठले जानकारी दिए ।
आफ्नो ठाउँलाई पर्यटकीय गन्तव्य बनाउनको लागि थाहा नगरपालिका वडा नं. १, ५ र ६ टिष्टुङका अगुवाहरु आफूआफूबीच पैसा उठाएर महोत्सवकै आयोजना गर्दैछन् । सन् २०१८ का लागि पर्यटकीय गन्तव्यको रुपमा घोषणा भएको कुन्छाल गाउँ समेत रहेको यस क्षेत्रका अगुवाहरुले आफ्नो क्षेत्रको ‘पर्यटकीय प्रडक्ट’ पर्यटन बजारसम्म मार्केटिङ गर्ने उद्देश्यले महोत्सवकै आयोजना गर्न लागेका हुन् ।
प्रारम्भमा महोत्सव संचालनका लागि गठित सचिवालयमा रहेका १५ जनाले जनही २०÷२० हजारका दरले पैसा जम्मा गर्ने भएका छन् । ‘ऐतिहासिक टिष्टुङ हाम्रो पहिचान, सम्बृद्ध टिष्टुङ हाम्रो अभियान’ भन्ने नारा सहित तय भएको महोत्सव अब २४ देखि २७ असोजसम्म टिष्टुङको सरस्वती बजारमा संचालन हुने भएको छ ।
महोत्सव संचालन गर्नका लागि टिष्टुङको बजार क्षेत्रमा हुने उक्त महोत्सवका लागि सबै स्थानीयहरुले आर्थिक रुपमै सघाउने भएकाछन् । सरस्वती बजार व्यवस्थापन समिति र नेपाल संवत् ११३९ को मूल आयोजक समितिको संयुक्त आयोजनामा टिष्टुङ महोत्सव संचालन हुन लागेको हो । महोत्सवमा करिब एकसय ६० स्टल रहने छन् । यि मध्ये अधिकांश स्टल बजारकै पसलहरु हुनेछन् । ‘अरु प्रवद्र्धनात्मक स्टलहरु ६० वटाजति थप्छौं’– मूल आयोजक समितिका संयोजक श्रेष्ठले भने ।
महोत्सवमा राखिने पसल बाहेकका थप हुने स्टलहरु अधिकांश प्रवद्र्धनात्मक हुने नेपाल संवत् ११३९ मूल आयोजक समितिका संयोजक तथा महोत्सव मूल आयोजक समिति सचिवालय सदस्य प्रमोद जोशीले बताए । टिष्टुङमा लिच्छवीकालिन शिला लेखहरु रहेका छन् । ति शिलाहरुमा टिष्टुङको चर्चा छ । यस कारण पनि यो ठाउँ ऐतिहाँसिक भएको प्रष्ट हुने उनको भनाई छ । टिष्टुङ शहरको रुपमा रहेको यहाँ पुराना दरवार तथा अड्डाहरुको भग्नावशेष रहेकोले अनुसन्धानकर्ताहरुका लागि यो ठाउँको थप महत्व रहेको महोत्सव आयोजक समितिले जनाएको छ । कुल २१ लाख ५० हजार रुपियाँको लागत अनुमान गरिएको महोत्सवमा स्थानीय वित्तिय संस्थाहरु, व्यवशायी, आयोजक समिति लगायत स्थानीयहरु आफै लगानी जुटाउन कस्सिएकाछन् ।