क्रसर उद्योग अनुगमन सुरु, हावादारी इआएको भरमा अबैध उत्खनन्

गुगलपाटी संवाददाता हेटौंडा,१२ चैत्र
१२ चैत्र २०७४ १५:१२

मकवानपुरमा स्थलगत अध्ययन नै नगरी बनाइएको बातावरणीय प्रभाव मुल्याङ्कन प्रतिवेदन(इआए)को भरमा अबैध क्रसर उद्योगहरुलाई विकास आयोजनाको नाममा नदीजन्य पदार्थ उत्खनन् गर्न अनुमति दिएको पाइएको छ । प्रमुख जिल्ला इन्जिनियर सोमराज तिमल्सिनाको संयोजकत्वमा गठित अनुगमन समितिले सोबारदेखि सुरु गरेको अनुगमनको क्रममा उक्त तथ्य फेला परेको हो ।
हेटौंडा–१ स्थित राप्ती खोलामा अनुगमन गर्दा करिब ४० मिटर चौँडाई रहेको राप्ती खोलामा ब्यक्तिको समेत जग्गा पर्नेगरी ६० मिटर चौँडाईसम्म उत्खनन् गर्न पाउने गरी इआए प्रतिवेदन बनाएको पाइएको हो । ‘करिब ४० मिटर चौँडा रहेको खोलामा ६० मिटर चौँडासम्म नदीजन्य पदार्थ उत्खनन् गर्न पाइने गरी इआए गरेको पाइयो’, अनुगमन समितिका सदस्य तथा जिल्ला बन कार्यालयका सहायक बन अधिकृत विशाल भट्टराईले भने ।
‘बजार नजिकै त हचुवाको भरमा इआए गरिएको छ भने कुनाकाप्चामा के कसरी अध्ययन भयो होला ?’, अनुगमन समितिका एक सदस्यले भने,‘हावादारी इआइएको भरमा मनपरी खोला खन्न दिइएको देखियो ।’
जिल्लाभित्र जिल्ला समन्वय समितिले उत्खनन् अनुमति दिएको १७ क्रसर उद्योग, उत्खनन् गरिएको क्षेत्र र स्टक अनुगमन गरिने अनुगमन समितिका संयोजक तिमल्सिनाले बताए ।
अनुगमन समितिले नदीजन्य पदार्थ (गिटी,ढुङ्गा,बालुवा) उत्खनन् गरेको परिमाण, स्टक र उद्योगको अनुगमन गरी जिल्ला अनुगमन समितिमा १५ दिनभित्र प्रतिवेदन बुझाउने उनले बताए । जिल्ला समन्वय समितिमा गत चैत्र पाँच गते बसेको सर्वपक्षीय बैठकले १५ दिनको लागि खोला खन्न रोकेर अनुगमन गर्ने निर्णय गरेको थियो । विकास आयोजनाको नाममा उत्खनन् अनुमति लिएका क्रसर उद्योगहरुले जथाभावी उत्खनन् गरी विकास आयोजना भन्दा बाहिर नदीजन्य पदार्थ बिक्री गरेको चौतर्फी गुनासोपछि उक्त निर्णय गरिएको थियो ।
अनुगमन समितिप्रति बेवास्ता
अनुगमन समिति गठन गरिएपनि सम्बन्धित निकायले अनुगमनलाई प्रभावकारी बनाउने चासो नदिएको पाइएको छ । अनुगमनको लागि स्पष्ट कार्यबिधि,स्रोत साधन र दक्ष जनशक्तिको अभाव देखिएको हो । अनुगमन सुरु भएपछि अनुगमन अवधिभरको लागि मकवानपुरका स्थानीय विकास अधिकारी नारायण प्रसाद मैनाली र एक हप्ताको लागि प्रमुख जिल्ला अधिकारी चक्र बुढाले जिल्ला छाडेको प्रशासन स्रोतले बताएको छ ।
सङ्लियो खोला
जथाभावी नदीजन्य पदार्थ उत्खनन्का कारण धमिलो बनेको खोलाहरुमा सफा पानी बाग्न थालेको छ । राप्ती, मनहरी लगायतका प्रमुख नदीहरुमा धमिलो पानी बग्न छाडेको हो । ‘पहिला गाईबस्तुले पनि नखाने पानी अहिले मान्छेले पनि खान मिल्ने भएको छ’, हेटौंडा १ लालझाडीका प्रितम लामाले भने ।