बार्तामा सहमति जुटेन,चालकहरु हड्तालमै (बिज्ञप्ती सहित)

गुगलपाटी संवाददाता हेटौंडा,४ असोज
४ आश्विन २०७५ १३:४२

नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिका कारण बिगत तीनदिनदेखिको आन्दोलन जारी रहने भएको छ ।

संघर्ष समितिको केन्द्रिय पदाधिकारी र बारा जिल्लाका प्रमुख जिल्ला अधिकारीविच विहिबार बाराको जीतपुरमा सम्पन्न वार्ता भएपनि यसले ठोस रुप लिन नसकेपछि आन्दोलन जारी राखिएको हो । यद्यपी शुक्रबार विहान माग संग सम्बन्धित मन्त्रालयका सचिब स्तरीय टोलीसंग वार्ता गर्ने वातावरण बनेको र त्यसलाई समितिले सकारात्मक रुपमा लिएको संघर्षरत समितिका संयोजक बसन्त शर्माले बताएका छन् ।

विहिबार एक विज्ञप्ती प्रकाशित गर्दै मुलुकी अपराध संहिता २०७४ मा व्यवस्था भएको सवारी ज्यान मुद्दा सम्बन्धि व्यवस्थाको परिमार्जन र संसोधनको माग पुरा गराउन प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, गृह मन्त्रालय, कानुन तथा न्याय मन्त्रालय र यातायात व्यवस्था मन्त्रालयका सचिब स्तरीय टोलीसंग शुक्रबार हुने वार्तापछि मात्र थप संघर्षका कार्यक्रमहरु तय हुने संयोजक शर्माले बताएका छन् ।

शुक्रबार काठमाडौंमा हुने वार्ता नटुंगिए सम्म सवारी साधन नचलाएर आन्दोलनलाई सहयोग गरिदिन समेत विज्ञप्ती मार्फत आग्रह गरिएको छ ।