किन हत्या भयो सुनसरीका मौलाना खुर्सिदको ? जसले चार जना भारतीय आतंककारीलाई नेपाली नागरिकता दिलाए

गुगलपाटी संवाददाता
५ आश्विन २०७५ ०२:३१

इन्डियन मुजाहिद्दिनका ४ लडाकुलाई आफ्नै घरमा आश्रय दिएर नेपाली नागरिकता र राहदानी उपलब्ध गराएको पत्ता लागेको ४ वर्षपछि सुनसरी भुटहाका मौलाना खुर्सिद आलम अन्सारीको बिहिबार बिहान हत्या भएको छ।

भारतीय गुप्तचर संस्थाले आतंककारी संगठन इन्डियन मुजाहिद्दिनको नेता भएकाले निगरानीमा राख्न नेपाल प्रहरीलाई आग्रह गरेको केही महिनामै मौलाना खुर्सिदको हत्या भएको हो।

बिहिबार सुनसरीको भुटहामा भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका दुई जना व्यक्तिले गोली हानेर मौलाना खुर्सिद आलम अन्सारीको हत्या गरी सुरक्षित रुपमा भारततर्फ भागेको थिए।

भारतका विभिन्न सहरमा सन् २००८ मा भएको श्रृखंलावद्ध बम आक्रमणका आरोपीलाई नेपालमा संरक्षण र आश्रय दिएको आरोप लागेका खुर्सिदलाई भारतीय सुरक्षा निकायले निगरानीमा राखेको थियो।

खुर्सिदले चार जना भारतीय आतंककारीलाई नक्कली कागजपत्र र बाबु खडा गरेर नेपाली नागरिकता र राहदानी उपलब्ध गराएका थिए। राजनीतिक पार्टी र मुस्लिम धर्म संगठनको आवरणमा रहेका खुर्सिदले नातेदारका हैसियतमा आश्रय दिएको खुलेपछि उनी त्यसबेला कानुनी कारवाहीबाट जोगिएका थिए।

भारतका विभिन्न सहरमा सन् २००८ मा बम बिस्फोट गराएर फरार भएका आइएमका ४ लडाकुलाई नेपालमा मौलाना खुर्सिदले संरक्षण र आश्रय दिएको चैत २०७१ मा खुलासा भएको थियो। भारतका बनारस, गोरखपुर, फैजाबाद, जयपुर, अहमदाबाद, लखनउ र दिल्लीमा आइएमले गराएको बम बिस्फोटमा १ सय ६६ जनाको मृत्यु र सयौं घाइते भएका थिए।

भारतको आग्रहमा नेपाल प्रहरीको विशेष ब्यूरोले गरेको विस्तृत अनुसन्धानमा भारतीय सुरक्षा निकायले सर्वाधिक खोजी गरेका आतंककारीहरु सलमान शेख, डाक्टर सहनवाज, वादा साजिद, मोहम्मद खालिद र अबु रसिदलाई मौलाना खुर्सिदकै सहयोगमा सुनसरीको नरसिंह गाविसको स्थायी बासिन्दा बनाएर नागरिकता र राहदानी उपलब्ध गराइएको थियो। चारै जनाले जिल्ला प्रशासन कार्यालय सुनसरीबाट नक्कली कागजपत्र र बाबु बनाएर २०६६ जेठ र असारमा नागरिकता र राहदानी लिएको खुलेको थियो।

उनीहरु चारैजना २०६६ असार र भदौमा पालैपालो अल अरेबियाको उडानबाट नेपाली नागरिकका हैसियतमा बाहिरिएका थिए। त्यसयता मौलाना खुर्सिद भारतीय गुप्तचर संस्थाहरुको निगरानीमा थिए। खुर्सिदबारे भारतीय गुप्तचर संस्थाले भारतीय दूतावास मार्फत नेपाल सरकारलाई औपचारिक जानकारी गराएपछि ९ माघ २०७१ बाट अनुसन्धान सुरु भएको थियो।

प्रहरीको विशेष ब्यूरोले गरेको अनुसन्धानमा सन् २००८ मा भारतमा भएको श्रृखंलावद्ध आक्रमण लगत्तै इन्डियन मुजाहिद्दिनका सदस्यहरु नेपाल छिरेको र सुनसरीको भुटहामा आश्रय लिएर बसेको खुलेको थियो। उनीहरुलाई खुर्सिदले आश्रय दिएका थिए। भुटहामा बस्दा इन्डियन मुजाहिद्दिनका लडाकुहरुले मौलाना खुर्सिदको रैयान नेशनल इंगलिस बोर्डिङ स्कुलमा अध्यापन समेत गरेका थिए।

भारतीय गुप्तचर संस्था इन्टेलिजेन्स ब्यूरोले शिक्षक, धर्मगुरु र राजनीतिक कार्यकर्ता रहेका मौलाना खुर्सिदमाथि निगरानी बढाएको केही महिनामै उनको हत्या भएको हो। विशेष ब्यूरोले २०७४ पुस र माघमा इन्डियन मुजाहिद्दिनका सह–प्रमुख अब्दुल सुभान कुरेसी र जुनैद भनिने आरिज खानलाई नेपालबाट पक्राउ गरेपछि खुर्सिद सक्रिय रहेको खुलासा भएको थियो। उनीहरुको गिरफ्तारीपछि मौलाना खुर्सिदलाई ‘मुख्य जिम्मेवारी’ दिइएको आशंका भारतीय गुप्तचर संस्थाले गरेको थियो।

हत्या श्रृखंला
काठमाडौंको घण्टाघरमा ९ असोज २०६८ मा इस्लामिक संघ नेपालका महासचिव फैजान अहमदको हत्यापछि भारतीय गुप्तचर संस्थाले नेपालमा ‘स्टेट वन मर्डर’ ९राज्यको जिम्मेवारीमा हत्या० सुनसरीमा गरेको छ।

केही समय अघि काठमाडौंको जोरपाटीमा भएको एक भारतीय मजदुरको हत्या यही श्रृखंला भएपनि त्यसमा गुप्तचर निकाय चुकेको थियो। गलत पहिचान भएको खुलासापछि चुपचाप बसेका भारतीय गुप्तचर अधिकारीहरुले नेपाल सरकारसँग सल्लाहमै अपराधी र आतंकवादीको ‘बार्टर’ गरिरहेका थिए।

भारतीय सुरक्षा अधिकारीहरुका अनुसार तीन हप्ताअघि दिल्ली विमानस्थलमा काभ्रेका दावा भनिने जितेन्द्र लामाको पक्राउ समेत राज्यद्वारा निर्देशित कारवाहीकै कडी थियो। दावाको हत्या गर्ने योजना बनिरहँदा गुप्तचर निगरानीमा उनलाई भारतका विभिन्न सहर र दुबईसम्म जान दिइएको थियो।

लामामाथि कोलकोत्तामा नक्कली भारतीय नोटको कारोबार गरेको आरोपमा कारवाही भइरहेको छ। स्रोतका अनुसार कारागारमा रहेका गणेश लामालाई समेत ‘डि कम्पनी’ निकट रहेको आशंकमा भारतीय पक्षले निगरानी गरिरहेको छ।