बजेट अभावले गौरिटार रंगशालाको निर्माण रोकिन्न : दुलाल
गुगलपाटी संवाददाता हेटौंडा,९ असोजतीन नम्बर प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले मंगलबार दिउँसो हेटौंडा ६ स्थित निर्माणाधिन केन्द्रीय खेलकुद प्रतिष्ठान (गौरिटार रंगशाला) को निरीक्षण गरेका छन् । तत्कालिन प्रधानमन्त्री माधव कुमार नेपालले शिलान्यास गरेपछि बजेट अभावमा सरकारले अलपत्र छाडेको रंगशाला निर्माणमा प्रदेश सरकारले चासो देखाएको हो ।
रंगशाला अनुगमन गर्दै मन्त्री दुलालले रंगशाला निर्माणको लागि यसको बिस्तृत अध्ययन गरेर डिपिआर तयारी गर्न सम्भाब्यता अध्ययनको लागि चालु आर्थिक वर्षमा पाँच करोड रुपैयाँ रकम बिनियोजन गरिएको बताए । ‘आगामी आर्थिक वर्षमा थप बजेट बिनियोजन गरेर निर्माणको काम गर्छौं’, उनले भने । अनुगमनपछि खेलकुद सम्बद्ध अधिकारीहरुलाई दुलालले बजेटकै कारण रंगशाला निर्माण अब नरोकिने समेत स्पष्ट पारे ।
मन्त्री दुलाललाई रंगशालाको हालको अवस्था र समस्याहरुको बारेमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सिना, निवर्तमान अध्यक्ष बालकृष्ण चौंलागाई, ६ नम्बर वडा अध्यक्ष अर्जुन चौँलागाई, जिल्ला फुटलव संघका अध्यक्ष टिका लामा, जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष सन्तोष चौँलागाई लगायतले जानकारी गराएका थिए ।