स्थानीय पत्रपत्रिकाः निर्माण व्यवसायीमा चुनावी चर्चा, श्याम ढकाल निर्विरोध हुने संकेत

गुगलपाटी संवाददाता
११ आश्विन २०७५ ०१:१५

हेटौंडाबाट प्रकाशित हुने दैनिक पत्रिकाले आज ३ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालको भनाइ र निर्माण व्यवसायी संघ मकवानपुरको चुनावी सरगर्मीसम्बन्धी प्रसङ्गलाई प्राथमिकताका साथ छापेको छ ।

त्यसैगरी मकवानपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद विरोध खतिवडाले संसदमा सरकारको आलोचना गरेको सम्बन्धी प्रसङ्गलाई पनि पत्रपत्रिकाले पहिलो स्थान दिएका छन् । शिक्षक सेवा आयोगको आजदेखि परीक्षा हुँदै गरेको समाचार पनि छापिएको छ ।

निर्माण व्यवसायी संघमा चुनावी चर्चा
भोलि असोज १२ र १३ गते हुन लागेको निर्माण व्यवसायी संघ मकवानपुरको १२ औं साधारणसभाले नयाँ नेतृत्व चयन गर्दैछ ।

सोहीअनुसार संघका हालका महासचिव श्याम ढकालले अध्यक्षमा उम्मेदवारी दावी गर्दै घोषणा गरेका छन् । लामो समय कार्यसमिति सदस्य र महासचिव भएर काम गरिसकेको र व्यवसायीको हकहितको लागि काम गरिने भन्दै आफूले उम्मेदवारी दिने ढकालले बताए । पत्रकार सम्मेलनमार्फत ढकालले उम्मेदवारी घोषणा गरेका हुन् ।

ढकालसँगै उनको प्यानलको वरिष्ठ उपाध्यक्षमा बालगोपाल कँडेल, द्धितीय उपाध्यक्षमा सागर भट्टराई, तृतीय उपाध्यक्षमा बुद्धिराम डिम्डुङ र महासचिवमा बालकुमार मल्ल ठकुरीले उम्मेदवारी दिने घोषणा गरेका छन् । आजको हेटौंडा सन्देश दैनिकमा मुख्य समाचार बनाएर छापिएको छ ।

त्यस्तै आजको साझाकुरा दैनिकले केन्द्र सरकारसँग ३ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले असन्तुष्टी व्यक्त गरेको सम्बन्धी प्रसङ्ग छापिएको छ । बुधबार आयोजित मन्त्रालयको पत्रकार सम्मेलनमा केन्द्र सरकार र प्रदेश सरकारबीच केही समस्या रहेको बताए ।

त्यस्तै समृद्ध समाज दैनिकले शिक्षक सेवा आयोगको परीक्षा आजदेखि हुने समाचारलाई छापेको छ । आजबाट सुरु हुने परीक्षा १३ गतेसम्म चल्नेछ ।

मकवानपुरमा बारा, पर्सा र रौतहटका परीक्षार्थीका लागि केन्द्र तोकिएको छ । मकवानपुरका परीक्षार्थीले भने चितवन पुगेर परीक्षा दिनेछन् ।

हेर्नुहोस् हेटौंडाबाट प्रकाशित आजका दैनिक पत्रिकाको पहिलो पृष्ठ