“खादा” प्रयोगमा प्रतिबन्ध
नवराज वाइवा हेटौंडा,१२ असोज
सार्वजनिक, औपचारिक कार्यक्रममा अतिथीको सम्मानमा प्रयोग हँदै आएको खादामाथि रोक लगाउने निर्णय भएको छ ।
सुनकोशी गाउँपालिका (सिन्धुपाल्चोक) वडा नं. १ का वडा क्षेत्रभित्र हुने कार्यक्रममा खादा निषेध गरिएको हो । वडाध्यक्ष नेत्रबहादुर कार्कीले सूचना समेत प्रकाशित गरी वडा क्षेत्रमा हुने कुनै पनि सार्वजनिक कार्यक्रममा खादा प्रयोग गर्न नपाउने गरी निषेध गर्ने निर्णय गरिएको हो ।
वडाभित्र कार्तिक १ गतेदेखि लागु हुने गरी निषेधित सूचना जारी गरिएको छ, खादा निषेध गरिएको कारण भने सूचनामा खुलाइएको छैन ।उक्त सूचना जारी भएपछि सामाजिक सञ्जालमा अध्यक्ष कार्की र सो निर्णयको चर्को विरोध भइरहेको छ । उनीहरुले पटक पटक बौद्धधर्मावलम्बीहरुको आस्थाको प्रतिक खादामाथिको लक्षित प्रहार बन्द गर्नुपर्ने उल्लेख गरेका छन् । खादा प्रयोगको निर्णय नसच्याए बौद्धधर्मावलम्वी संघ, संस्थाहरु देशब्यापी रुपमा संघर्षमा उत्रन बाध्य हुने नेपाल तामाङ घेदुङ मकवानपुरका अध्यक्ष लिलाकुमार घलानले बताएका छन् । यसअघि पनि बौद्धधर्मावलम्बीहरुले संस्कृतिकै रुपमा प्रयोग गर्दै आइरहेको खादालाई बाहिर विवादमा ल्याइएको थियो । जसको सञ्चार माध्यमहरुमा ब्यापक विरोध भएको थियो ।