स्थानीय पत्रपत्रिकाः प्रदेशको बजेट कार्यान्वनमा समस्या, हेटौंडा कपडा उद्योगमा अझै राजनीति
गुगलपाटी संवाददाताहेटौंडाबाट प्रकाशित हुने दैनिक पत्रिकाले फरक फरक प्रसङ्गलाई मुख्य समाचार बनाएर प्रकाशित गरेका छन् । प्रदेश सरकारप्रति शंका नगर्न मुख्यमन्त्री पौडेलको आग्रह, प्रदेश विकासको खाका तयार, कपडा उद्योगमा अझै राजनीतिलगायतका शीर्षकका समाचार पत्रिकाहरुले प्राथमिकताका साथ छापेका छन् ।
प्रदेशको बजेट कार्यान्वयनमा समस्या
प्रदेश लेखा नियन्त्रण कार्यालयअन्तर्गत जिल्लास्तरमा कोष तथा लेखा नियन्त्रण कार्यालय स्थापना नहुँदा बजेट कार्यान्वयनमा ढिलाई भएको छ । ३ नम्बर प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले स्थानीय तहको लागि छुट्याइएको ससर्त अनुदान तथा बित्तीय समानीकरण अनुदानको रकमको पहिलो किस्ता पठाउन समस्या भएको हो ।
आर्थिक मामिला मन्त्रालयले सबै स्थानीय तहलाई छुट्याइएको अनुदान रकमको एक चौथाई रकम उपलब्ध गराउन गत साउन महिनामा नै प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयलाई पत्र काटेको भए पनि स्थानीय तहमा भने हालसम्म बजेट पुगेको छैन ।
‘हामीसँग बजेट नभएको पनि हैन, केन्द्र सरकारले पठाएको ४ अर्ब रकमबाट स्थानीय तहलाई पहिलो किस्ताको लागि प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयलाई पत्र पठाए पनि जिल्लास्तरमा प्रदेशअन्र्तगतको कार्यालय नहुँदा केही ढिलाई भइरहेको छ ।’ आर्थिक मामिला तथा योजना मन्त्रालयका उपसचिव किशोर वर्तौलाले भने । ‘अब प्रत्येक जिल्लामा भएका कोष तथा लेखा नियन्त्रण कार्यालयमा प्रदेशको युनिट स्थापना गरी त्यहिँबाट स्थानीय तहमा बजेट पठाउने तयारी अन्तिम चरणमा पु¥याएका छौं ।’
सबै स्थानीय तहको खाता नम्बर लिइसकेको र अबको केही दिनमा जिल्लामा प्रदेशको युनिट खडा गरी रकम निकासा गरिने मन्त्रालयले जनाएको छ । ३ नम्बर प्रदेशका १३ जिल्लाका एकसय १९ वटा स्थानीय तहका लागि छुट्याइएको बित्तीय समानीकरण अनुदानअन्तर्गतको एक अर्बमध्ये पहिलो किस्ता २५ करोड रुपैयाँ निकासा गर्नको लागि आर्थिक मामिला मन्त्रालयले प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयलाई भदौ १५ गते पत्र लेखेको थियो ।
त्यस्तै सशर्त अनुदानबापत छुट्याइएको ३ अर्ब ६३ करोड ८२ लाखमध्ये पहिलो किस्ताबापतको ९० करोड ९५ लाख ५० हजार रुपैयाँ स्थानीय तहलाई निकासा गर्न साउन १५ गते नै आर्थिक मामिला मन्त्रालयले पत्र लेखेको उपसचिव बर्तौलाले बताए । आजको साझाकुरा दैनिकले मुख्य समाचार बनाएर छापेको छ ।
आजको हेटौंडा सन्देश दैनिकले दैनिकले हेटौंडा कपडा उद्योगमा राजनीति भएको समाचार छापेको छ । दश वर्ष अवधिमा हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्ने भन्दै आधा दर्जन अध्ययन भए । सोही प्रतिवेदनअनुसार उद्योग सञ्चालनको प्रस्तावबारे पटकपटक मन्त्रिपरिषद्मा छलफल पनि भए । तर, उद्योग सञ्चालन भने हुन सकेन ।
प्रत्यक उद्योग मन्त्रीले पहिलो काम नै हेटौंडा कपडा उद्योग चलाउने भन्दै अध्ययन समिति बनाउँछन् । तर, प्रतिवेदनका आधारमा उद्योग भने चलाउने प्रक्रिया अघि बढ्दैन । पुरानो प्रतिवेदनलाई नयाँ आएका मन्त्रीले स्वीकार गर्दैनन् । र नयाँ समिति बनाइहाल्छन् ।
त्यही चक्रमा हालका उद्योग मन्त्री मातृका यादवले पनि समिति बनाए । प्रतिवेदनसमेत तयार भयो । तर, त्यो पनि उद्योग मन्त्रालयको कुनै दराजमा थन्किएको छ । २०३६ सालमा चीन सरकारको २० करोड लगानीमा खोलिएको हेटौंडा कपड उद्योग २०५७ सालयता बन्द रहेको छ ।
आजको समृद्ध समाज दैनिकले पत्रकारको भूमिका महत्वपूर्ण हुने ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको भनाइसम्बन्धी प्रसङ्गलाई प्रमुखताका साथ छापेको छ । नेपाल पत्रकार महासंघ मकवानपुरको १५ औं वार्षिक साधारणसभामा बोल्दै उनले पत्रकारहरुलाई इमान्दारिताका साथ काम गर्न आग्रह गरे ।
हेर्नुहोस् आज हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाको पहिलो पृष्ठ