स्थानीय पत्रपत्रिकाः स्थानीय तहका प्रमुख, उप्रमुखलाई पोषाक र लोगो

गुगलपाटी संवाददाता
२० आश्विन २०७५ ०१:५४

हेटौंडाबाट आज प्रकाशित भएका दैनिक पत्रिकाले फरक फरक प्रसङ्गलाई आफ्नो मुख्य समाचार बनाएर छापेका छन् ।
३ नम्बर प्रदेशको संसद बैठकमा ठूला नेता नै कम उपस्थिति, बिजनेश नहुँदा संसद बैठक टाढियो, प्रदेशका पाँच स्थानमा विषादी अवशेष प्रयोगशाला बनाइँदै, घुम्ती शिविरमा ३७ जनालाई नागरिकतालगायतका शीर्षकका समाचारलाई पत्रपत्रिकाले प्राथमिकताका साथ छापेका छन् ।
जनप्रतिनिधिलाई पोषाक र लोगो
जिल्ला समन्वय समिति मकवानपुरको तेस्रो जिल्ला सभा वार्षिक समीक्षा कार्यक्रम शुक्रबार विभिन्न प्रस्ताव पारित गर्दै सकिएको छ । १० स्थानीय तहमध्ये ९ वटा तहको सहभागिता रहेको कार्यक्रममा विभिन्न प्रस्तावहरु पारित गरिएको छ । जिल्ला समन्वय समितिको संगठन ढाँचा, कर्मचारी दरबन्दीलगायतका प्रस्ताव पारित गरिएको हो ।

सभाबाट जिल्ला सभा सचालन कार्यविधि, जिल्ला अनुगमन तथा समन्वय कार्यविधि, मकवानपुर जिल्लाका स्थानीय तहका निर्वाचित प्रतिनिधिहरुको आचार संहिता, स्थानीय तहका जनप्रतिनिधिहरुको पोषाक र लोगो निर्धारण गर्नेलगायतका प्रस्ताव पारित भएको हो । समृद्ध समाज दैनिकले पहिलो पृष्ठमा समाचार छापेको छ ।

त्यस्तै आजको साझाकुरा दैनिकले ३ नम्बर प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयलले प्रदेशका ५ स्थानमा विषादी अवशेष परीक्षण प्रयोगशाला स्थापना गर्न थालेको समाचार छापेको छ । चालु आर्थिक वर्षमा सबै जिल्लामा कोल्ड स्टोर्स, १० स्थानमा माटो परीक्षण प्रयोगशाला र ५ स्थानमा विषादी अवशेष परीक्षण प्रयोगशाला स्थापना गर्न लागिएको जनाइएको छ । मन्त्रालयले चालु वर्षमा कार्यक्रम खर्चको लागि २ करोड ६० लाख छुट्याएको छ ।

त्यस्तै आजको हेटौंडा सन्देश दैनिकले ३ नम्बर प्रदेशको प्रदेशसभा बैठकमा ठूला नेता नै कम उपस्थित भएको समाचार छापेको छ । २०७४ माघ १८ गतेदेखि हालसम्म् ६९ वटा बैठक बसेको छ । ६९ वटा बैठकमा ९ जना सांसद ५० प्रतिशत भन्दा कम उपस्थित छन् ।

मुख्यमन्त्री डोरमणि पौडेल६९ बैठकमा ४७ पटक मात्र उपस्थित छन् । प्रमुख प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँ ३८ पटक मात्र उपस्थित भए । सभामुख सानुकुमार श्रेष्ठ सबै बैठकमा उपस्थित छन् ।

हेर्नुहोस् हेटौंडाबाट आज प्रकाशित दैनिक पत्रिकाको पहिलो पृष्ठ