स्थानीय पत्रपत्रिकाः एक वर्षमा २ हजारले गराए गर्भपतन
गुगलपाटी संवाददाताहेटौंडा आज हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाले फरक फरक विषयलाई प्रमुख समाचार बनाएर छापेका छ । सहकारीले उत्पादनमा लगानी गर्नुपर्ने मुख्यमन्त्री पौडेलको भनाइ, राजकुमार लामिछानेलाई भैरव स्मृति सम्मान, नगरभित्रै नागरिकता शिविर, प्रतिष्ठानमार्फत हेटौंडामा मेडिकल कलेज, २०६२ जनाले गराए गर्भपतनलगायतका समाचार आजका दैनिक पत्रिकाले प्राथमिकताको साथ छापेको छ ।
२०६२ महिलाद्धारा गर्भपतन
मकपवानपुर जिल्लामा आर्थिक वर्ष २०७४/७५ मा दुई हजार ६२ जना महिलाले गर्भपतन गराएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार मकवानपुर जिल्लामा गत आर्थिक वर्षमा ११ हजार ६ सय ४९ गर्भवती भएका थिए । कुल गर्भवती महिलामध्ये १८ प्रतिशतले गर्भपतन गराएको देखिएको छ । आजको समृद्ध समाज दैनिकमा समाचार छापिएको छ ।
आजको प्रदेश दैनिक र थाहा सन्देश दैनिकले हिजो शनिबार ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विभिन्न सहकारीको साधारणसभा उद्घाटन गर्दै सहकारीलाई उत्पादनमुलक काममा लगानी गर्न सुझाएको खबर पहिलो पृष्ठमा छापेको छ ।
हेटौंडा सन्देश दैनिकले हेटौंडामा मेडिकल कलेज खुल्ने समाचार छापेको छ । ३ नम्बर प्रदेश सरकारले चिकित्सा शिक्षा अध्यापनको लागि हेटौंडामा मेडिकल कलेज खोल्न लागेको हो । मेडिकल कलेज सञ्चालनसम्बन्धी विधेयक प्रदेशसभामा पुगिसकेको छ ।
आजको साझाकुरा दैनिकले हास्यव्यङ्ग्यकार राजकुमार लामिछानेलाई भैरव स्मृति सम्मान प्रदान गरेको समाचार छापेको छ । सिस्नुपानी नेपाल मकवानपुर र साहित्य संगम मकवानपुरले भैरव अर्यालको स्मृतिमा स्थापना गरिएको भैरव अर्याल स्मृति सम्मान लामिछानेलाई प्रदान गरिएको हो । उनलाई नगद २१ हजार १ सय ११ रुपियाँसहित सम्मान गरिएको हो ।
हेर्नुहोस् आज हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाको पहिलो पृष्ठ