स्थानीय पत्रपत्रिकाः प्रदेशको स्थायी राजधानीको विषय आज प्रदेशसभामा जाँदै

गुगलपाटी संवाददाता
२२ आश्विन २०७५ ०१:२९

आज हेटौंडाबाट प्रकाशित सबै दैनिक पत्रिकाले ३ नम्बर प्रदेशको स्थायी राजधानीको विषय आज संसदमा प्रवेश गर्ने समाचारलाई प्रमुखताका साथ छापेका छन् ।

तीन नम्बर प्रदेशको स्थायी राजधानको लागि सम्भाब्यता अध्ययन गर्न गठित स्थायी राजधानी सम्भाव्यता अध्ययन विशेष समितिको प्रतिवेदन आजको प्रदेशसभा बैठकमा प्रस्तुत हुने भएको छ । गत असार २६ गते विशेष समितिले सभामुख सानुकुमार श्रेष्ठलाई बुझाएको प्रतिवेदन ढिलो गरी सभामा प्रस्तुत हुन लागेको हो ।

आइतबारको प्रदेशसभा बैठकमा तीन नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमरकट्टेलले स्थायी राजधानीको मुद्धाले सदनमा प्रवेश पाउने जानकारी दिएका हुन् । कार्यब्यवस्था परामर्श समितिको बैठकबाट प्रदेशसभामा उक्त प्रतिवेदन पेस गर्ने कार्यसूची तय भएको उनले बताए । सरकार सञ्चालन गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तीन नम्बर प्रदेश संसदीय दलको बैठकमा पनि हिजो पहिलो पटक स्थायी राजधानीको बारेमा छलफल भएको छ । संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलले राजधानीको बारेमा सबैको चासो रहेको भन्दै गम्भिर छलफलबाट मात्र निष्कर्षमा पुग्नुपर्ने बताए । बैठकमा बोल्दै नेताहरुले स्थायी राजधानीको विषय छिटो टुङ्ग्याउनुपर्ने माग गरेका थिए ।

यसैबीच तीन नम्बर प्रदेशसभाको आईतबार बसेको बैठकले तीन विधेयक थप छलफलको लागि समितिमा पठाएको छ । दफावार छलफलको लागि सामाजिक विकास मन्त्री युवराज दुलालले पेस गरेको प्रदेश खेलकुद विकास सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक र प्रदेश प्राविधिक शिक्षा सञ्चालन गर्र्र्ने व्यवस्था सम्बन्धी विधेयक शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा पठाइएको हो । प्रदेश कार्य सञ्चालन कोष सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक अर्थ तथा विकास समितिमा दफावार छलफलको लागि पठाइएको छ ।

साथै भौक्तिक पूर्वाधार मन्त्री केशव स्थापितले प्रदेश सवारी तथा यातायात सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक र आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमरकट्टेलले प्रदेश सञ्चार सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेस गरिएको छ ।

हेनुैहोस् हेटौंडाबाट आज प्रकाशित दैनिक पत्रिकाहरुको पहिलो पृष्ठ