एसिड पीडितले भने : अपराधीलाई जन्मकैदको ब्यवस्था होस्

गुगलपाटी संवाददाता हेटौंडा,२२ असोज
२२ आश्विन २०७५ ०८:०२

बिभिन्न समयमा बिभिन्न गलत ब्यक्तिहरुबाट एसिडको सिकार भएका चेलीहरुले यस्ता जघन्य अपराधमा संलग्नहरुलाई कडा कारवाही गर्न माग गरेका छन्।
न्यूज क्लब हेटौंडाले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनीहरुले राज्यको फितलो कानुनको फाइदा उनीहरुले उठाइरहेको बताएका छन्। मकवानपुरकी एसिड पीडित बिन्दवासिनी कंशकार,रौतहटको चपुरकी सीमा बस्नेत सहितका चेलीहरुले आफूहरुलाई कुरुप बनाउने अपराधीहरुलाई कडा कारवाहीको माग गरेका छन् । सीमालाई एसिड प्रहार गर्ने ब्यक्ति पक्राउ परेपनि कंशकारलाई एसिड प्रहार गर्ने भारतीय नागरिक दीलिप केशरी भने अझै पक्राउ नपरेकोमा उनीहरुले आपत्ति जनाएका छन्। त्यस्तै अर्की एसिड पीडित संगिता मगरले पनि अपराधमा संलग्नहरुलाई कुनैपनि बाहनामा छुट दिन नहुने बताइन् ।
कार्यक्रममा महिला हिंसा बिरुद्धका अभियान्ताका रुपमा रहेकी सिरिश फूँयालले भने अपराधमा संलग्नहरुलाई कारवाही गर्नुको सट्टा जेलमा सम्मनका साथ राखिएका कारण पनि अपराधीहरुको मनोबल बढेको बताइन् । उनले यस्ता अपराधीलाई सर्वश्व सहित जन्मकैदको सजयाँ हुनुपर्नेमा जोड दिइन् । कार्यक्रम क्लबका अध्यक्ष धर्मेन्द्र दाहालको अध्यक्षतामा सम्पन्न भएको हो ।