भुटानविरुद्ध नेपालको आक्रामक बलिङ, ११७ रनको जित
गुगलपाटी संवाददाता काठमाडौंसन् २०२० मा आयोजना हुने आईसीसी टीट्वेन्टी विश्वकपको पहिलो चरणको एसियाली छनोट प्रतियोगिता अन्तरगतको चौथो खेलमा नेपालले भुटानमाथि ११७ रनको सानदार जित निकालेको छ । भुटानले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १५० रन बनाएको थियो ।
१५१ रनको लक्ष्य पछ्याएको भुटान १६.४ ओभर खेल्दा ३३ रनमै समेटियो । भुटानको ब्याटिङ धरासायी बनाउने क्रममा स्पीनरद्वय सन्दीप लामिछाने र ललित राजवंशीले ३–३ विकेट लिए । सन्दीपले ४ ओभरमा २ मेडन गर्दै ६ रन दिए भने ललितले पनि २ मेडन गर्दै ४ रन मात्रै दिए ।
त्यसै गरी वसन्त रेग्मीले २ दीपेन्द्रसिंह ऐरीले १ र शरद भेषावाकरले १ विकेट लिए । भुटानका तेन्जिङ वाङचुकले मात्रै दोहोरो अंकको स्कोर बनाउन सके ।१९ बल खेलेका उनले ११ रन बनाए । भुटानका ११ ब्याट्सम्याले नेपालविरुद्ध ४ वटा बाउन्ड्री प्रहार गर्न सके ।
पहिलो ओभरमा २ विकेट गुमाएको भुटानको चौथो ओभरमा २, छैटौं र सातौं ओभरमा १–१, नवौं र दशौं ओभरमा १–१ विकेट गुमेको थियो ।
ब्याटिङ तर्फ स्कोर ६ रन हुँदा पहिलो ओभरमा नै विनोद भण्डारीको विकेट गुमाएको नेपालका लागि प्रदीप ऐरी र अनिलकुमार साहले राम्रो साझेदारी गरे ।
नोपलका लागि प्रदीप ऐरीले सर्वाधिक ७५ रन बनाए । ६८ बलको सामना गरेका ऐरीले ६ चौका र २ छक्का प्रहार गरी अविजित रहे अनिलकुमार साहले २७ र दीपेन्द्रसिंह ऐरीले १५, आरिफ शेखले १३, करण केसीले ११ रन बनाए ।
नेपालले प्रतियोगिताको यसअघिका ३ खेलमा सहज निकालेको थियो । म्यानमार र मलेसियालार्इ ८ विकेटले हराएको नेपालले थाइल्याण्डलार्इ डकवर्ड जुइस नियमका आधारमा १४० रनले पराजित गरेको थियो ।