स्थानीय पत्रपत्रिकाः मकवानपुर क्याम्पस प्रादेशिक विश्वविद्यालय, इलाज मुद्दामा ओमबाबा भीमफेदी चलान

गुगलपाटी संवाददाता
२४ आश्विन २०७५ ००:५८

हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाले आज फरक फरक प्रसङ्गलाई प्रमुख समाचार बनाएर छापेका छन् ।

आजको समृद्ध समाज दैनिकले हेटौंडाको मकवानपुर बहुमुखी क्याम्पसलाई प्रादेशिक विश्वपिद्यालय बनाउने मुख्यमन्त्री डोरमणि पौडेलको भनाइ सम्बन्धी प्रसङ्गलाई प्रमुखताका साथ छापेको छ ।

कवानपुर बहुमुखी क्याम्पसको १३ औं क्याम्पससभाको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले परम्परागत शिक्षामा भन्दा आधुनिक र प्राविधिक शिक्षामा जोड दिए । मकवानपुर क्याम्पसलाई प्राविधिक शिक्षा सञ्चालन गर्नसमेत मुख्यमन्त्रीले आग्रह गरे ।

त्यस्तै ओम बाबा थुनामा गएको समाचार पनि समृद्धले पहिला पृष्ठमा छापेको छ । आश्रममा झारफुक गर्न गएकी एक महिलाको मृत्यु भएपछि पक्राउ परेका ओमबाबा भन्ने ओमप्रकाश श्रेष्ठलाई जिल्ला अदालत मकवानपुरले पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको छ ।

जिल्ला न्यायाधिश खडानन्द तिवारीको मंगलबार बसेको इजलाशले हेटौंडा–११ की सावित्री पुडासैनीको ओमबाबाको आश्रममा मृत्यु भएको आरोपमा श्रेष्ठलाई थुनामा राख्ने आदेश दिएको हो ।

त्यस्तै आजको साझाकुरा दैनिकले आजबाट वडादशैं सुरु भएको समाचार प्रमुखताका साथ छापेको छ । नवरात्रीको पहिलो दिन आज घरघरमा दूर्गादेवीको प्रतिमा स्थापना गर्दै घटस्थापना गरिँदैछ । आज घटस्थापनाको साइत बिहान ७ बजेर १५ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

आजको हेटौंडा सन्देश दैनिकले सुकुम्बासी टोल भनेर चिनिएको हेटौंडा–११ मा विभिन्न नामाकरण गरी टोलको नाम राखिएको समाचार छापेको छ । टोल स्थापना भएको २३ वर्षपछि बुधबार प्रतिनिधिसभाका सांसद बिरोध खतिवडाले सिमलटार चोकको उद्घाटन गरेका हुन् ।

सिमलटार रोडअन्तर्गत राप्तीचोक, मिलनचोक, टोल विकास चोक, स्कुलरोडअन्तर्गत बुद्धचोक, थाहा चोक, नमुनाचोक नामाकरण गरिएको छ । त्यस्तै सहकारी रोडअन्तर्गत एकताचोक, त्रिवेणीचोक, मन्दिर चोक नामाकरण गरिएको जनाइएको छ ।

हेर्नुहोस्, हेटौंडाबाट आज प्रकाशित दैनिक पत्रिकाको पहिलो पृष्ठ