राजधानी सार्न नदिन सबै सर्वपक्षीय दबाब आवश्यकः बानियाँ
हेटौंडा, २४ असोजनेपाली कांग्रेस प्रदेश ३ संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले ३ नम्बर प्रदेशको राजधानी हेटौंडाबाट अन्यत्र सार्न नदिन सर्वपक्षीय आवाज उठाउनुपर्नेमा जोड दिएका छन् ।
नेपाल प्रेस युनियन मकवानपुरको आयोजना बुधबार हेटौंडामा आयोजित चियापान तथा चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै बानियाँले प्रदेशको राजधानी हेटौंडाबाट सार्ने चलखेल भएको भन्दै त्यसतर्फ सचेत हुन हेटौंडाबासीलाई आग्रह गरे ।
प्रदेशको राजधानी हेटौंडालाई नै कायम गराउन आफूले संसदमा भूमिका खेलिरहेको भन्दै बानियाँले गणतीय हिसाबले नेकपा बलियो भएकाले उनीहरुले सार्न सक्ने आशंका व्यक्त गरे । नेकपाका अधिकांश सांसदहरु राजधानी सारेर काभ्रे पु¥याउने चलखेल भएको भन्दै उनले हेटौंडाबासीको दबाब दिए हेटौडामा नै राजधानी राख्न बल पुग्ने बताए । हेटौंडाबाट राजधानी सारिए मकवानपुरबासीले आन्दोलनमा उत्रने र त्यसको प्रभावस्वरुप काठमाडौंमा मकवानपुरले नाकाबन्दी लगाउन सक्ने अवस्था आउने उनको भनाइ थियो ।
रणनीतिक रुपमा नै उपयुक्त रहेकाले नै शेरबहादुर देउवा नेतृत्वको सरकारले स्थायी राजधानी बनाउने हेतुले अस्थायी राजधानी हेटौंडामा तोकेको उनको भनाई थियो । राजनीतिक आग्रह पूर्वाग्रहमा नलागी एकमत भएर राजधानी अब हेटौंडामा नै कायम गर्न सबै जुट्नुपर्ने बताए । सडक सञ्जाल, सुरक्षा संवेदनशिलता र रणनीतिक दृष्टिकोणले प्रदेश नम्बर ३ को राजधानी हेटौँडा उपयुक्त रहेको उनको भनाई थियो । गणितीय हिसाबले आवश्यक मत नेकपासँग रहेको भन्दै बानियाँले यसका लागि नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली तयार हुनुपर्ने बताए ।
युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारीको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस मकवानपुरका निवर्तमान सभापति रघुरमण न्यौपाने, नेपाल प्रेस युनियनका मध्यमाञ्चल संयोजक राममणि दाहाल, पार्टी जिल्ला सचिव बुद्ध लामा, कोषाध्यक्ष गोपिलाल विक, प्रवक्ता प्रदिप कोइराला, नगर सभापति आनन्दराम पराजुली, नेपाल पत्रकार महासंघका अध्यक्ष हरि हुमागाई, प्रेस सेन्टरकी अध्यक्ष नानीमैया विष्टलगायतको आतिथ्यता रहेको थियो ।