मकवानपुर प्रहरीले चाडवाडमा बिशेष अभियान चलाउने
गुगलपाटी संवाददाता हेटौंडा,२४ असोजनेपालीहरुको महान पर्व दशैं तिहारलगायत चाडपर्व लक्षित गरी मकवानपुर प्रहरीले सुरक्षा योजना बनाएको छ ।
ठूला पर्वहरुमा आपराधिक गतिविधि हुनसक्ने र राजमार्गमा लुटपाटसमेत हुने गरेकाले त्यसलाई नियन्त्रण गर्न सुरक्षा योजना वनाएको हो ।जिल्ला प्रहरी कार्यालय मकवानपुरले मोटरसाइकल र गाडीसहित ५२ जनाको ‘क्वीक रेस्पोन्स’ टोली बनाएको छ । घटना भएको थाहा पाउने बित्तिक्कै मोटसाइकल वा गाडीमा तत्काल घटनास्थल पुगिहाल्ने गरी योजना बनाएको प्रहरी उपरीक्षक वुद्धिराज गुरुङले बताए ।
उनले टोली २४ सै घन्टा तयारीमा रहने जानकारी दिए । मोटरसाइकल र पैदल गस्ती १९ वटा परिचालन हुने जनाएको छ । प्रहरी कार्यालयका अनुसार प्रहरीको पिकेट जिल्ला भरी गरी ३२ वटा रहने जनाएको छ । राजमार्गमा हुने लुटपाटलगायत अपराधिक घटना नियन्त्रण गर्ने उद्देश्यले बारा र मकवानपुरको सिमानामा पर्ने चुरियामाई मन्दिर नजिकवाट हतियारसहित रात्री बसमा प्रहरी चढेर लोथरको पुलसम्म पुग्ने व्यवस्था मिलाइएको उनले बताए । चितवनबाट आएको रात्री बसहरुमा लोथरबाट हतियारसहित प्रहरीहरु वसेर चुरियामाई मन्दिरसम्म पुग्ने योजना वनाएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयले रात्रीवसमा सुरक्षार्थ खटिने ७२ जना प्रहरीको ८ वटा टिम वनाएको छ । मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने एवं जुवातास खेल्नेहरुलाई सख्त कारवाही गर्ने पनि प्रहरीले जनाएको छ ।चाडवाडलाई लक्षित गरेर ६ सय ८२ जना प्रहरीहरु परिचालन गर्ने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।