स्थानीय पत्रपत्रिकाः निजीसँग प्रतिस्पर्धामा सरकारी उद्योग, प्रहरीको भूमिका प्रति मुख्यमन्त्री सकारात्मक
गुगलपाटी संवाददाताहेटौंडाबाट आज प्रकाशित पत्रिकाले ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले ६३ औं प्रहरी दिवसको अवसरमा आयोजित समारोहमा सम्बोधन गरेको विषयलाई प्रमुखताका साथ समाचार बनाएर छापेका छन् ।
३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडामा आयोजित समारोहमा मुख्यमन्त्रीले प्रहरीको भूमिका सकारात्मक रहेको भन्दै सन्तुष्टी व्यक्त गरे । प्रहरीलाई अझ स्रोत साधनयुक्त र प्रविधिमैत्री बनाएर अपराध अनुसन्धान सशक्त बनाउन प्रदेश सरकारले भूमिका खेल्ने मुख्यमन्त्री पौडेलको प्रतिवद्धता थियो ।
टोल टोलमा प्रहरी, मुस्कानसहितको प्रहरी सेवा, प्रहरी मेरो साथीलगायतका अभियानको मुख्यमन्त्री पौडेलले प्रशंसा गरे । आजको हेटौंडा सन्देश र समृद्ध समाजले यसलाई प्रमुख खबर बनाएर छापेको छ ।
निजीसँग प्रतिस्पर्धामा सरकारी उद्योग
सरकारी स्तरबाट सञ्चालित उद्योग प्रतिष्ठानहरु धरासायी हुँदै बन्दसमेत भइरहेका बेला सरकारी स्वामित्वमा रहेको हेटौंडा सिमेन्ट उद्योग भने निजी सिमेन्ट उद्योगसँग प्रतिष्पर्धामा उत्रिएको छ ।
सिमेन्ट उद्योग नीजि उद्योगसँग प्रतिस्पर्धा गन हेटौंडा सिमेन्ट उद्योगले आफ्ना पुराना मेसिनहरुको स्तरोन्नती गरी क्षमता बिस्तार गर्न सुरु गरेको छ । मेसिनहरुको स्तरोन्नतीका लागि उद्योगले गत आव २०७४÷७५ मा ४५ करोड रुपैयाँ रकम जुटाएको जनाएको छ ।
उद्योगका महाप्रबन्धक प्रेमशंकर सिंहका अनुसार स्तरउन्नतीको लागि थप ५५ करोड रुपैयाँ चालु आर्थिक वर्षमा पनि जोहो गर्ने योजनामा उद्योग रहेको छ । देशभर खुलेका निजी सिमेन्ट उद्योगहरुले हेटौंडा सिमेन्टसँग मूल्यमा प्रतिस्पर्धा गर्न थालेपछि सिमेन्टको मूल्य घटाउन उत्पादन बृद्धि गर्ने योजनामा आफूहरु लागेको उनले बताए ।
२०४२ सालमा जडान गरेको मेसिनहरुबाट अब उत्पादकत्व घट्दै गइरहेको र बेला बेलामा समस्यासमेत आइरहेको कारण नयाँ प्रविधियुक्त मेसिन ल्याउन लागिएको महाप्रबन्धक सिंहले बताए । धादिङस्थित जोगिमारा, मकवानपुरको आमभञ्ज्याङस्थित मजुवा, भैँसे र ओखरे खानीबाट चुनढुङ्गा ल्याएर उद्योगले सिमेन्ट उत्पादन गरिरहेको छ । आजको साझाकुरा दैनिकले मुख्य समाचार बनाएर छापेको छ ।
हेर्नुहोस्, हेटौंडाबाट आज प्रकाशित दैनिक पत्रिकाको पहिलो पृष्ठ