प्रदेश तीनका कर्मचारी : दशैंमा बेखर्ची

गुगलपाटी संवाददाता हेटौंडा,२६ असोज
२६ आश्विन २०७५ ०४:५४

प्रदेश सरकार मातहतका कार्यालय व्यवस्थापनमा ढिलाइ हुँदा दसैंको मुखमा प्रदेश नम्ब तीनका कर्मचारी खाली हात घर जाने परिस्थिति सृजना भएको छ ।

प्रदेशमा साउनयता कर्मचारीले तलब नपाएको गुनासो छ । प्रदेशमातहत पठाइएका स्थानीय पूर्वाधार विकास विभागकै ७ सय कर्मचारीले तलब पाएका छैनन् । प्रदेश नम्बर ३ को भौतिक पूर्वाधार विकास मन्त्रालयमातहत जिल्ला तहका सयौं कर्मचारीले तीन महिनायताको तलब र दसैं खर्च पाउन बाँकी छ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय सिन्धुपाल्चोकका प्रमुख प्रकाश अधिकारीले कामकाज र बजेटको अख्तियारी नै नआएको बताए । ‘दसैंमा समेत तलब नपाउँदा कर्मचारीलाई समस्या छ,’ उनले भने ।

त्यसरी नै सीप बिकास तथा तालिम केन्द्र हेटौंडाका कर्मचारी पनि खाली हात घर जाने स्थिति सृजना भएको छ । प्रदेशका भौतिक पूर्वाधार, सामाजिक विकास, भूमि व्यवस्था तथा कृषि विकास मन्त्रालयमातहत जिल्ला तहमा बढी कार्यालय हस्तान्तरण भएका छन् । ती सबै निकायको कामकाज र तलबबारे अन्योल देखिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सहसचिव सुरेश अधिकारीले तलब नपाएका कर्मचारीको संख्या ठूलो रहेको बताए । सांगठनिक संरचना व्यवस्थापनमा ढिलाइले यस्तो समस्या निम्तिएको उनले उल्लेख गरे । ‘प्रदेश सरकारहरूले कार्यालय व्यवस्थापन गरेसँगै क्रमश: तलबको समस्या समाधान हुनेछ,’ अधिकारीले भने ।

प्रदेश ३ का अर्थ सचिव केवल भण्डारीले स्वीकृत संरचनाअनुसार कार्यालय सञ्चालनमा ढिलाइ भएकाले नै तलबको समस्या आएको बताए । ‘बजेट नभएर समस्या भएको होइन, कार्यालयको नाममा खर्च लेखिने हो, कार्यालय प्रमुखलाई अख्तियारी पठाउने हो,’ उनले भने, ‘साबिकका कार्यालय खारेज भएको तर नयाँको टुंगो लागिसकेको छैन ।