अध्यक्ष दाहालले भने : वामदेवले लड्दिनँ भनेपछि टेन्सन सकियो
गुगलपाटी संवाददाता काठमाडौँनेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब नेता वामदेव गौतमले चुनाव नलड्ने बताएका छन् । शुक्रबार बिहान कागेश्वरी-मनोहरा नगरपालिका आयोजित दसैँ तिहारको शुभकामना कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । करिब १९ मिनेट लामो मन्तब्यका क्रममा दाहालले अन्तिममा रामवीर मानन्धर र वामदेव गौतमको प्रसङ्ग झिक्दै अब सरकारको ध्यान विकासतर्फ लागेको बताए । ‘रामवीर मानन्धरको राजीनामा र वामदेव गौतम उपचुनावमा उठ्ने कुरालाई लिएर टेन्सन नलिनु होला’, दाहालले भने, ‘तपाईँहरुले अब केही टेन्सन लिनुपर्दैन, यसमा पार्टीलले निर्णय गर्छ ।’ध्यक्ष दाहालले अब पार्टी यो लफडातिर नलाग्ने पनि जबाफ दिए । ‘अहिले पार्टी त्यो लफडा तिर लाग्दैन, विकास निर्माण छाडेर यो लफडामा लाग्नु पनि हुँदैन’, दाहालले भने, ‘हिजोबाट वामदेव गौतम स्वयम्ले काठमाडौँ क्षेत्र नम्बर ७ बाट लड्दिन भनेपछि त कुरै सकियो ।’
अब सरकार देश विकासतर्फ लाग्ने बताउँदै दाहालले अब कुनै लफडामा नफस्ने जिकिर गरे । ‘अब समाजवाद निर्माणका लागि पार्टी क्रियाशिल हुन्छ’, उनले भने, ‘चीन–भारतसहितका छिमेकीसँग सम्बन्ध राम्रो भइसकेको छ, दुवैतिरबाट रेल निर्माण सुरु हुँदैछ । बर्षाले रोकेको विकासलाई अब हिउँदमा तीब्र बनाउँछौँ ।’