टी-२० विश्वकप एसिया पूर्वी क्षेत्र छनौटमा नेपाल च्याम्पियन

गुगलपाटी संवाददाता काठमाडौँ
२६ आश्विन २०७५ १०:५६

अस्ट्रेलियामा सन् २०२० मा गरिने आईसीसी विश्व कप टी ट्वान्टी क्रिकेट छनोट प्रतियोगिताको पहिलो खुड्किलो छिचोल्ने क्रममा नेपाल च्याम्पियन भएको छ । मलेसियामा सम्पन्न एसिया ‘बी’को छनोट उपाधि उचाल्दै नेपाल एसिया छनोटमा पुग्न सफल भएको हो । प्रतियोगितामा नेपाल अपराजित रहँदै च्याम्पियन भएको हो ।

नेपालले ५ खेल जित निकाल्यो भने सिंगापुरविरुद्धको अन्तिम खेल वर्षाले प्रभावित भएपछि बिनानतिजा सकियो । पाल र सिंगापुरबीच शुक्रबार सम्पन्न खेल वर्षाले नतिजाबिहीन भएपछि नेपाल रनरेटका आधारमा च्याम्पियन भएको हो ।

यो खेलमा नेपालले टस जित्दै पहिले बलिङ रोजेको थियो । पहिले बलिङमा जाने निर्णयलाई सही सावित गर्दै नेपाली बलरहरुले कसिलो बलिङ गरेपछि सिंगापुर केबल ८१ रनमा समेटिएको थियो ।

सिंगापुरविरुद्ध सन्दीप लामिछानेले ४ विकेट लिए । १८ ओभर ३ बलमा अलआउट भएको सिंगापुर ८१ रन बनाएको थियो । ८२ रनको लक्ष्य पछ्याएको नेपालले ३ बलमात्रै खेल्दा वर्षाका कारण खेल रोकिएको थियो ।

पानी नरोकिएपछि खेल नतिजाबिहीन बन्न पुग्यो । पाँचै खेल जितेको सिंगापुरभन्दा रनरेटमा माथि भएपछि नेपालले प्रतियोगिताको उपाधि पनि जित्न सफल भयो ।