गुर्जा हिमाल चढेका ९ आरोहीको मृत्यु(अपडेट)
गुगलपाटी संवाददाता काठमाडौंम्याग्दीको गुर्जा हिमाल (७१९३ मिटर) आरोहणका क्रममा चार नेपाली र ५ कोरियाली नागरिकको मृत्यु भएको छ। आरोहण दलका सबै सदस्य ३८ सय मिटर उचाईमा रहेको आधार शिविरमा बसेर हिमाल आरोहणको तयारी गर्दै गरेको अवस्थामा हिमआँधीले बगाएको हो।मृत्यु हुनेमा आरोहण दलका प्रमुख कोरियाका किम चाङ हो सहित लि जाइहुङ, रिम इल जीन, यु युङजिक, जेओङ जो मो छन्।
आरोहण टोलीका नेपाली सदस्य संखुवासभा भोटखोला गाउँपालिका ३ का छिरिङ भोटे, लाक्पा साङबु भोटे, फुर्वु भोटे र धौलागिरी गाउँपालिकाका नेत्रबहादुर छन्त्याल रहेको आरोहण आयोजक एजेन्सी ट्रेकिङ क्याम्प नेपालका प्रमुख वाङछु शेर्पाले जानकारी।यो आरोहण दल नयाँ रुट भएर पहिलो पटक आरोहणमा गएको थियो।
आधार शिविर भन्दा माथि गुर्जा हिमाल, चुरेन हिमाल र धौलागिरी-६ हिमाल हुँदै हिउँआँधी आएर आरोहीहरूलाई पाँच सय मिटर तलसम्म छरपष्ट बगाएको उद्धारमा पुगेका सिम्रिक एयरका वरिष्ठ क्याप्टेन सिदार्थ जंग गुरुङले बताए।’आधार शिविरमा हिउँ छैन तर माथिबाट बगेर आएको हिउँले घाँस समेत लतारेको छ, शवहरू पाखै भरी छरपष्ट अवस्थामा रहेको देखेँ’, घटनामा परेकाहरूलाई जिवितै उद्दार गर्न सकिने आशामा शनिबार बिहान हेलिकोप्टर लिएर त्यहाँ पुगेका गुरुङले भने, ‘टेण्टहरू केही बगाएको र केही आधार शिविरमै देखेँ। केही शव स्लिपिङ ब्यागभित्रै भएको अनुमान गरेँ।’