चङ्गा चेट प्रतियोगितामा लामा प्रथम

गुगलपाटी संवाददाता हेटौंडा,२७ असोज
२७ आश्विन २०७५ १३:२४

संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले हेटौंडामा पहिलोपटक चङ्गा चेट प्रतियोगिता भएको छ । शनिबार भएको प्रतियोगितामा हेटौंडाका ४७ जना सहभागि रहेका थिए ।

प्रतियोगितामा सुनिलकुमार लामा प्रथम, सुनिल खड्गी दोस्रो र विनोद खड्गी तेस्रो भएका थिए । प्रतियोगितामा प्रथमले नगद दश हजार रुपैंया, ट्रफी र प्रमाणपत्र पाउन सफल भए । त्यस्तै, दोस्रो र तेस्रोले नगद पाँच हजार र दुई हजार पाँच सय रुपैंया पाए । प्रतियोगितामा उत्कृष्ट चङ्गा ट्रफी कृष्णबहादुर लामाले र उत्कृष्ट उडान ट्रफी महासत्व बज्राचार्यले पाउन सफल भए ।

हेटौंडा १, जरुवाटोलको खुला मैदानमा भएको प्रतियोगिता जीवन कल्याण तथा सहजीकरण संस्था हेटौंडाले आयोजना गरेको हो । प्रतियोगिताको उद्घाटन हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्य तथा संस्थाका अध्यक्ष रविन्द्र शाहीको अध्यक्षतामा भएको थियो ।

हेटौंडा वडा नम्बर १ का अध्यक्ष सवीन न्यौपाने, संस्थाका उपाध्यक्ष विनोद शाहीलगायतको आतिथ्य रहेको प्रतियोगितामा नारायण राजथला, प्रविण श्रेष्ठ र शिवकुमार कार्की निर्णायक रहेका थिए । सहभागी दर्ता शुल्क प्रतिव्यक्ति एकहजार रुपैंया तोकिएको चङ्गा चेट प्रतियोगितामा सहभागी सवैलाई चङ्गा, लटाई र टी(सर्ट प्रदान गरिएको थियो ।