स्थानीय पत्रपत्रिकाः प्रदेश राजधानी कायम गराउन काठमाडौं छिरे मकवानपुरे सांसद

गुगलपाटी संवाददाता
२९ आश्विन २०७५ ०१:४४

हेटौंडाबाट आज प्रकाशित दैनिक पत्रिकाले फरक फरक विषयलाई प्रमुख समाचार बनाएर छापेका छन् । आजको समृद्ध समाज दैनिकले ३ नम्बर प्रदेशको राजधानी हेटौंडाबाट अन्यत्र नसार्न माग गर्दैै मकवानपुरका नेकपाका नेताहरु काठमाडौंमा पुगेको समाचारलाई प्रमुखताका साथ छापेको छ ।

पार्टीका शीर्ष नेतालाई भेट्न मकवानपुरका जनप्रतिनिधि काठमाडौं पुगेका हुन् । मकवानपुरबाट निर्वाचित नेकपाका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य विरोध खतिवडा, संघीय संसदमा अर्थ तथा विकास समितिका संयोजक कृष्ण दाहाल, नेकपाकी केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य कुमारी मोक्तान, मुनु सिग्देल, प्रेमबहादुर पुलामी, ओम ग्लान, जुनेली श्रेष्ठलगायतकाको टोली प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष कपी शर्मा ओलीलाई भेट्न आइतबार काठमाडौं पुगेका हुन् ।

टोलीले आज प्रधानमन्त्रीलाई भेटी हेटौंडामा नै प्रदेशको राजधानी कायम गर्नुपर्ने आधार र आवश्यकताको बारेमा जानकारी गराउने बताइएको छ ।

त्यस्तै आजको साझाकुरा दैनिकले मकवानपुरको बिकट राक्सिराङ गाउँपालिकामा हुने गरेको व्यापक गाँजाखेतीमा कमी हुँदै आएको समाचार प्रकाशित गरेको छ । गोलभेँडाले गाँजाबारी भरिन थालेको जनाइएको छ ।

त्यस्तै आजको हेटौंडा सन्देश दैनिकले दशैंले बजारको महोल तातेको समाचार छापेको छ । फुटपाथदेखि सबै पसलहरुमा किनमेल गर्नेको भीड लागेको छ ।

आजको प्रदेश दैनिकले फुटपाथको पार्किङ र व्यापारले सर्वसाधारणलाई मार परेको समाचार छापेको छ । फुटपाथमा व्यापारीले कब्जा गरेका छन् भने सोही फुटपाथमा मोटरसाइकलसमेत पार्किङ हुने गरेको छ ।

हेर्नुहोस् हेटौंडाबाट आज प्रकाशित दैनिक पत्रिकाको पहिलो पृष्ठ