निर्मला पन्त प्रकरण : एसपी विष्ट र इन्स्पेक्टर भट्ट बर्खास्त
काठमाडौं, ९ कात्तिककञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा घटनास्थल सुरक्षा नगरी प्रमाण नस्ट गरेको आरोप लागेका एसपी दिल्लीराज बिष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलार्इ गृह मन्त्रालयले बर्खास्त गरेको छ ।
दुर्इ दुर्इ पटकको स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै गृहले भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने बर्खास्त गरेको हो। प्रहरी उपरीक्षक दिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदशी प्रसाद भट्टरार्इ प्रहरी नियमावली २०७१ नियम ११३ को उपनियम देहाय १ क कसुरमा भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने गरी मिति २०७५/७/८ को निर्णय भएको व्यहोरा जानकारी गराइएको छु, गृहद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
बालिका बलात्कारपछि हत्याको घटनामा घटनास्थल सुरक्षा नगरी प्रमाण नस्ट गरेको आरोप लागेका एसपी डिल्लीराज बिष्ट र प्रहरी निरीक्षक जगदीश भट्टले दोस्रो पटक आजै स्पष्टिकरण दिएका थिए ।
निलम्बित एसपी बिष्टलाई प्रहरी प्रधान कार्यालयमार्फत् गृहले स्पष्टिकरण सोधेको थियो। जवाफमा उनले प्रचलित कार्य विधिअनुसार घटनास्थलको सुरक्षा र सबुत–प्रमाण संकलन गरेको दाबी गरेका थिए। ४ पृष्ठ लामो स्पष्टिकरणमा उनले भनेका थिए, ‘घटना राजनीतिकरण गरी मलाई पीडित बनाउने काम गरियो। म कर्तव्यबाट चुकेको छैन।’ कसले राजनीतिकरण गर्यो भन्नेबारे स्पष्टिकरणमा केही उल्लेख छैन।
कारवाही प्रक्रियामा सहभागी गृह अधिकारीकाअनुसार बिष्ट र भट्टले सिलसिलेवार जवाफ दिएका छैनन्। उनीहरुले घटनाको पृष्ठभूमि, त्यसले आफू र परिवारमा परेको असर र घटनालाई अनावश्यक बढाई–चढाई गरिएकोजस्ता तथ्यहीन भावनात्मक जवाफ पेश गरेका छन्। गृहले सिलसिलेवार जवाफ पठाउन पत्र काटेको थियो।
प्रहरी प्रधान कार्यालयले असोज २९ मा गृह मन्त्रालयलाई पत्र लेख्दै एसपी बिष्ट र प्रहरी निरीक्षक भट्टलाई सेवाबाट निस्कासन गर्न सिफारिश गरेपछि कारवाही प्रक्रिया सुरु भएको थियो।
गत साउन १० गते साथीको घरबाट स्कूलको गृहकार्य सकेर घर फर्किंदै गरेकी कञ्चनपुरकी बालिका १३ वर्र्षीया निर्मलाको बलात्कारपछि हत्या भएको थियो। साउन ११ गते उखुबारीमा शव भेटिएको थियो।
आधा दर्जनभन्दा बढी प्रहरी टोलीले घटनाको छानवीन गरे पनि परिणाम शून्य भएको अवस्थामा सरकारले कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख विष्ट र प्रहरी निरीक्षक भट्टलाई बर्खास्त गर्न प्रक्रिया अघि बढाएको हो। उनीहरुमाथि घटनास्थलको सुरक्षा नगरेको एवं प्रमाणहरू नस्ट गरेको आरोप छ।
गृहमन्त्रालयका सहसचिव हरिप्रसाद मैनाली र प्रहरी अतिरीक्त महानिरीक्षक धिरु बस्न्यातको संयोजकत्वमा गठित छानबिन समितिले निर्मलाको बलात्कारपछि हत्या घटना अनुसन्धानमा प्रहरीले पटक–पटक लापरबाही गरेको निष्कर्षसहित आवश्यक कारवाहीका लागि सिफरिस गरेको थियो।