थाहा नगरमा तेस्रो थाहा महोत्सव सुरु
गुगलपाटी संवाददाता थाहा नगर,१० कात्तिकमकवानपुरको प्रमुख पर्यटकीय क्षेत्र थाहा नगरमा तेस्रो थाहा महोत्सव सुरु भएको छ । महोत्सवको उद्घाटन गर्दै तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कृषि र पर्यटनलाई जोडेर यस क्षेत्रमा एग्रो टुरिजमको विकास गर्ने लक्ष्य रहेको बताए ।
महोत्सवमा दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहनेछ । साथै दुईसय ४० बढि किसानका कृषि उपजको प्रतिस्पर्धा गराईने आयोजक थाहा नगर उद्योग बाणिज्य संघका महासचिव सुरेन्द्र प्रधानले बताए । साथै महोत्सवमा उँट र अष्ट्रिजको नाच देखाइने भएको छ ।
दुईसय २४ स्टल रहेको महोत्सवमा नौ दिन सम्म चल्नेछ । महोत्सवमा करिब छ करोड रुपैयाँको कारोबार हुने र ६५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको मेला आयोजक थाहा नगर उद्योग बाणिज्य संघका अध्यक्ष कविराज खत्रीले बताए ।
थाहानगरस्थित इन्द्रायणी चौरमा सुरु भएको महोत्सवमा कृषि, फेन्सी तथा कस्मेटिक, हस्तकला तथा उद्यमशील, होटल तथा रेष्टुरेन्ट, आईटी इलेक्ट्रोनिक्स÷मोवाइल, स्वास्थ्य तथा शैक्षिक परामर्श, डेरी आइसक्रिम, फेन्सी तथा कस्मेटिक, ट्याटु, बैंक तथा वित्तीय संस्था र कृषि जन्य वस्तुहरुको विक्री तथा प्रदर्शनी रहेको छ ।
महोत्सव उद्घाटन कार्यक्रममा प्रदेश तीनका सामाजिक विकास मन्त्री युवराज दुलाल, भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारी, तीन नम्बर प्रदेशसभा सदस्य कुमारी मोक्तान, प्रेम बहादुर पुलामी, जिल्ला समन्व समितिका सभापति रघुनाथ खुलाल,नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य राजकुमार न्यौपाने,मकवानपुर अध्यक्ष कृष्ण कट्टवाल लगायतको उपस्थिती रहेको थियो ।