स्थानीय पत्रपत्रिकाः थाहा नगर अब ‘एग्रो’ टुरिजम

गुगलपाटी संवाददाता
११ कार्तिक २०७५ ०१:२७

हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाले आज मकवानपुरको थाहा नगरमा शनिबारबाट सुरु भएको थाहा महोत्सवको समाचारलाई पहिलो प्राथमिकतामा छापेका छन् ।

त्यस्तै कुलेखानी तेस्रो जलविद्युत् आयोजना ११ वर्ष पछि पूरा हुँदै, सही काममा घुँडा नटेक्ने हेटौंडा उपमहानगरपालिकाको मेयरको भनाइ, बागमती गाउँपालिकामा गाउँ शिक्षा परामर्शसभा, फरार प्रतिवादी पक्राउ, माछा प्लान पर्यटकीय क्षेत्रलगायतका समाचारलाई दैनिक पत्रिकाहरुले पहिलो पृष्ठमा छापेका छन् ।

३ नम्बर प्रदेशका मुख्मन्त्री डोरमणि पौडेलले थाहा नगरलाई एग्रो टुरिजमको रुपमा विकास गरिने भनाइ सम्बन्धी समाचारलाई आजको हेटौंडा सन्देश दैनिकले मुख्य समाचार बनाएर छापेको छ । थाहा महोत्सवको उद्घाटन गर्दै पौडेलले यस्तो बताएका हुन् ।

थाहा नगरमा पर्यटनको प्रशस्त सम्भाना रहेको उनले औंल्याए । ग्रामीण भेगमा हुने मेला तथा महोत्सवले गाउँ र सहरलाई जोड्ने पुलको काम गर्न पनि उनले बताए ।

साझाकुरा दैनिकले पनि थाहा नगरलाई पर्यटकीय गन्तव्यकै रुपमा विकास गर्ने उद्घोष भएको समाचारलाई मुख्य समाचार बनाएको छ । १४ मेगावाटको कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको काम ११ वर्षपछि सकिँदै गरेको समाचार पनि साझाकुरामा छ । आगामी पुस महिनादेखि परीक्षण उत्पादन थाल्ने आयोजनाको तयारी छ ।

त्यस्तै आजको समृद्ध समाज दैनिकले हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको भनाइसम्बन्धी प्रसङ्गलाई पहिलो पृष्ठमा छापेको छ । मेयर महतले हेटौंडा–४ स्थित सुरक्षित बचत तथा ऋण सहकारी संस्थाको उद्घाटन गर्दै सही काममा कसैसँग घुँडा नटेक्ने बताए । समाजमा हरेक क्षेत्रमा बेथिति रहेको भन्दै महतले बेथिति पन्छाएर काम गर्न चुनौतीपूर्ण रहेको बताए ।

प्रदेश दैनिकले थाहा नगरमा महोत्सव सुरु भएको र मेयर महतको भना सम्बन्धी प्रसङ्गलाई पहिलो पृष्ठमा छापेको छ । माछा प्लानलाई पर्यटकी क्षेत्र बनाउने हटौंडा उपमहानगरपालिकाको योजनासम्बन्धी समाचार पनि प्रदेशले अघिल्लो पृष्ठमा छापेको छ ।

हेर्नुहोस्, आज हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाको पहिलो पृष्ठ