कस्तो छ प्रधानमन्त्रीलाई ? शरीर सुन्नियो, अनुहार र छाती रातो
काठमाडौं, १३ कात्तिकछातीमा संक्रमणसँगै श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएका प्रधानमन्त्री केपी ओली स्वास्थ्य अवस्था सुधारोन्मुख छ । उनलाई स्वासनलीको संक्रमण (रेस्पिरेटोरी ट्य्राक्ट इन्फेक्सन) भएको छ ।
दसैँको टीकाको दिनदेखि बिरामी भएका प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार नदेखिएपछि सोमबार बिहान ४ः३० बजे महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो । सुरुमा सामान्य रुघाखोकी लागेका उनलाई छाती दुखाइ र श्वासप्रश्वासमा समस्या बढ्दै गएपछि अस्पताल भर्ना गरिएको हो । एक दशकअघि मिर्गौला प्रत्यारोपण गरेकाले उनलाई चाँडै संक्रमण हुने समस्या छ ।
सेन्टरका निर्देशक प्राडा उत्तमकृष्ण श्रेष्ठले श्वासनलीमा भएको संक्रमणलाई मिर्गौलासम्म पुग्न नदिन चिकित्सकहरूले प्रयास गरिरहेको बताए ।
सिसियूमा राखिएका प्रधानमन्त्रीको उपचारमा मुटुरोग विशेषज्ञ डा। अरुण सायमी, मिर्गौला रोग विशेषज्ञ डा। दिव्या सिंह शाह र डा। प्रकाश काफ्ले, छातीरोग विशेषज्ञ डा। सन्तकुमार दास र एनेस्थेसिया डा। सुवास आचार्य खटिएका छन् । केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने चिकित्सकहरूको भनाइ छ ।
ओलीले आमसर्वसाधारणलाई दसैँको टीका लगाइदिए । प्रधानमन्त्रीले टीका लगाइदिने सार्वजनिक घोषणा नै गरेपछि पार्टी कार्यकर्ता, सर्वासाधारण र शुभचिन्तकको बालुवाटारमा टीका थाप्न भिड लाग्यो । भिडभाडमा लामो समय रहँदा नै संक्रमण भएको प्रधानमन्त्रीकी निजी चिकित्सक डा। दिव्या सिंहले बताइन् । मिर्गौला प्रत्यारोपण गरेको व्यक्ति भिडभाडमा ५ मिटरको दूरीमा बस्दासमेत श्वासप्रश्वासको माध्यमबाट संक्रमण फैलन्छ ।
दसैँको भिडभाडकै कारण मौसमी फ्लु रुघाखोकी को संक्रमण भएका प्रधानमन्त्रीलाई निजी चिकित्सक डा। दिलीप शर्माले घरमै उपचार गराएका थिए । गत शुक्रबार शिक्षण अस्पतालमा छातीको एक्सरे पनि गरिएको थियो । तर, कुनै समस्या नदेखिएपछि आत्तिनु नपर्ने सल्लाह चिकित्सकले दिएका थिए । तर, रगतमा सुगरको मात्रा पनि बढ्यो । घरमै नियन्त्रणको प्रयास सफल भएन । आइतबार निरन्तर खोकी लाग्ने र श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल ल्याइएको निजी चिकित्कसले बताए । ‘घरमै सुगरलगायत समस्या कन्ट्रोल गर्न खोजेका थियौँ, तर नसकेपछि अस्पताल ल्याएका हौँ,’ डा। सिंहले बताइन् ।
प्रधानमन्त्रीको शरीर दुई दिनदेखि सुन्निएको छ । गाला, अनुहार र छाती रातो भएको छ । रगतमा चिनीको मात्रा असन्तुलित छ । तर, मौसमी फ्लु भनेर चिनिने एच वन एन वन (स्वाइनफ्लु) भने नेगेटिभ छ । ज्वरो भने आएको छैन । चिकित्सकका अनुसार स्वासनलीमा संक्रमण देखिएपनि फोक्सो, मुटु र मिर्गौलासम्म पुगेको छैन । प्रधानमन्त्रीको स्वास्थ्यको नमुना परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।