बिदाको दिन सरकारी गाडी दुरुपयोग गर्दै काँग्रेसी कर्मचारीको मस्ती

गुगलपाटी संवाददाता हेटौंडा,१५ मंसिर
१५ मंसिर २०७५ १२:०८

नेपाल बिधुत् प्राधिकरणका नेपाली काँग्रेस निकट कर्मचारीहरुले सवारी पास नलिई दुई दर्जन प्राधिकरणको गाडी लिएर शनिबार मस्ती गरेका छन् । सवारी पास नलिई प्राधिकरणको गाडी लिएर नेपाल बिधुत् प्राधिकरण क्षेत्रीय कार्यालय हेटौंडा अन्तर्गत दश जिल्लाका बितरण केन्द्रका नेपाली काँग्रेस निकट कर्मचारीहरुले हेटौंडा बजार नजिक भिफेदीस्थित त्रिखण्डीमा बनभोज र भेला गरेका हुन् ।
सार्वजनिक बिदाका दिन सरकारी सवारी साधन प्रयोग गर्न पाईदैन । तर उनीहरुले प्रयोग गरेको दुई दर्जन बढि सवारी साधनको पास गुगलपाटी अनलाईका प्रतिनिधिसँग देखाउन सकेनन् । नेपाल बिधुत् प्राधिकरण हेटौंडा क्षेत्रीय समितिको बनभोज तथा भेलामा सहभागि अधिकांस कर्मचारीले पहेँलो नम्बर प्लेटको प्राधिकरणको गाडी दुरुपयोग गरेका हुन् ।

बनभोज खान नेपाल विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय हेटौंडा अन्तर्गत बीरगंज, भरतपुर, टाँडी, पालुङ, गौर, कलैया, सिमरा, चपुर, हेटौंडा, पोखरीया बितरण केन्द्रका कर्मचारी सहभागि थिए । बनभोज खान गएका अन्य सर्वसाधरणहरुले भने प्राधिकरणका कर्मचारीले सरकारी गाडीको दुरुपयोग गरेकाले कारबाही हुनुपर्ने बताएका छन् ।
नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघ क्षेत्रीय समिति हेटौंडाका अध्यक्ष प्रकाश बस्नेतले कर्मचारी संगठनको भेला भएकाले प्राधिकरणको गाडी प्रयोग गरिएको बताए । प्रायः गाडीको सवारी सवारी पास रहेको उनले बताएपनि कुनै पनि गाडीको सवारी पास देखाउन भने सकेनन् ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बिदाको दिन सकारी गाडी चलाउने कर्मचारीलाई कारबाही हुने बताए ।