हारवर्ड विश्वविद्यालयको अध्ययन : कलिलो उमेरमै विद्यालय भर्ना गर्नु बालबालिकाका लागि खतरा
गुगलपाटी संवाददाता मंसिर १९,मात्र एक वर्षभित्र साना बालबालिकाहरुमा देखिने विकासक्रम बारेमा अभिभावकलाई जति कसलाई थाहा होला र ?
एक वर्षको एक बालक मुस्किलले बामे सरिरहेको हुन्छ । त्यसको एक वर्षपछि ऊ तपाईंलाई समाउन हम्मे पर्ने गरि फुत्केर कुद्न थालिसकेको हुन्छ ।
त्यस्तै सधैँ यताउती हिँड्ने कि त कल्पनामा डुबिरहने र हरेक कुरामा ‘किन’ भनेर प्रश्न गरिरहने चार वर्षकी बालिका त्यसको एक वर्षपछि नै तपाईँको कुरामा अलि एकाग्र हुन थाल्छिन् ।
बढ्दो अपेक्षा र मानवीय व्यवहार
बालबालिकाहरु बदलिएका छैनन् तर उनीहरुबाट गरिने हाम्रा अपेक्षाहरु भने बढेका बढ्यै छन् ।
एक पुस्ताको फरकमा बालबालिकाहरु विद्यालय जाने उमेर झन् भन्दा झन् कम जाने मात्र होइन, बिगतको कुनै पनि समयभन्दा अहिले बढी समय विताउन थालेका छन् ।
त्यहाँ उनीहरुले कलिलै उमेरमा धेरैभन्दा धेरै शैक्षिक सामाग्री सिक्नु परिरहेको छ । यो भार उनीहरुको क्षमताले भ्याउनेभन्दा बढी हुनसक्छ ।
सन् १९९८ मा ३१ प्रतिशत शिक्षकहरुले बालबालिकाहरुले किण्डरगार्डेन(केजी)का पाठहरु बुझ्ने अपेक्षा गर्थे । सन् २०१० मा ८० प्रतिशत शिक्षकले यो अपेक्षा गरिरहेका थिए ।
अब त बालबालिकाहरुबाट केजीका पाठहरु बुझ्ने र केही लेख्ने मात्र होइन त्यसको केही पछिनै फरर पढ्न सक्ने अपेक्षा गरिन्छ ।
तर एक अध्ययनले भने सानै उमेरमा विद्यार्थीलाई पढाईको दबाब दिँदा राम्रो भन्दा नराम्रो गर्ने देखाएको छ ।
‘रिडिङ इन किन्डरगार्डेन : लिटल टु गेन एण्ड मच टु लुज’ नामक रिपोर्टमा प्रध्यापक न्यान्सी कार्ससन–पेग र उनका सहकर्मीहरुले बालबालिकाहरुलाई कलिलै उमेरमा पढाउनुको खतराबारे सावधान गराएकी छिन् ।
उनीहरुले लेखेका छन् :
‘जब बालबालिकालाई तिनको विकासको गतिसँग मेल नखाने अथवा उनीहरुको सिकाई आवश्यकता र शैलीसँग नमिल्ने सामाग्री पढाइन्छ, त्यसले उनीहरुलाई ठूलो हानी गर्छ । यसले गर्दा उनीहरुमा आफूलाई अयोग्य ठान्ने, नित्य भयवित हुने र अन्यौलमा पर्नेजस्ता समस्या देखिन्छ । ’
खेलाडीप्रति घृणा, खेलप्रति प्रेम
धेरै अवस्थामा हामीहरु विद्यालयमा समस्या देख्नेभन्दा आफ्ना नानीबाबुहरुमा दोष देख्छौँ । आजको दिनमा अवास्तविक उद्देश्य पुर्ति गर्नुपर्ने पढाई सामाग्रीमा राम्रो गर्न नसक्ने बालबालिकालाई पढाइमा सुस्त भएको भनिन्छ । यस्ता बालबालिकाहरुको पढाइको रफ्तार बढाउनको लागि विभिन्न कदमहरु सुझाब दिइन्छ ।
कक्षामा रहेका सबैले एउटै रफ्तारमा सिक्नुपर्छ भन्ने मान्यतामा विद्यालय आधारित हुन्छ । यदी बालबालिकाहरुले शिक्षकले भनेको कुरामा ध्यान दिइरहेका छैनन् भने, धेरै समय कल्पना गरिरहेका छन् वा आफ्नो सिटमा छटपटिएर बसिरहेका छन् भने उनीहरुलाई एकाग्र हुन नसक्ने विकार ‘एटेन्सन डेफिसिट/हाइपरएक्टिभिटी डिसअर्डर(एडीएचडी)’ पहिचान गरिन्छ । यो समस्या पहिचान गरिएका धेरै जसो बालबालिकाहरुको लागि कडा खालको मानसिक औषधी सिफारिस गरिन्छ ।
‘यू.एस. सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन’ले अमेरिकामा ४ देखि १७ वर्ष बीचका लगभग ११ प्रतिशत बालबालिकाहरुमा एडीएचडी रहको पहिचान गरिएको रिपोर्ट दिएको छ ।
यो संख्या सन् २००४ देखि सन् २०१२ बीचमै ४२ प्रतिशतले वृद्धि भयो । यीमध्य धेरैलाई औषधि चलाइएको छ । अझ डरलाग्दो तथ्याङ्क यो विकार पहिचान भएका मध्ये एक तिहाई ६ वर्ष मुनिका छन् ।
यो स्वभाविक हो कि आमाबुवा वा घरका आफन्तबाहेक अरुसँग समय नबिताएका कलिला बालबालिकाहरुलाई एक्कासी तिनको परिवारबाट लामो समयको लागि छुट्टाएर जाँच–केन्द्रीत पाठ्यक्रम पालना गरिनु पर्ने एउटा मानकमा निर्माण गरिएकोे कृत्रिम वातावरणमा बसाउनु त्यो उमेरका लागि ठूलो दवाव हो ।
हारवर्ड मेडिकल स्कूलका अनुसन्धानकर्ताहरुले गरेको एक नयाँ खोजले खास समस्या बालबालिकाहरुमा नभएर उनीहरुलाई चाँडै विद्यालय भर्ना गर्ने कार्यमा रहेको पुष्टि गरेको छ ।
यी अनुसन्धानकर्ताहरुले एउटै कक्षाकोठामा रहेका विद्यार्थीहरुमध्ये बढी कलिला विद्यार्थीहरुमा अलि बढी उमेर भएकालाई भन्दा एडीएचडी पहिचान गरिने सम्भावना बढी रहेको पत्ता लगाएका हुन् ।
हारवर्डका प्रमुख अनुसन्धानकर्ता टिमोथी लेटनले आफ्नो अनुसन्धानको निचोड दिँदै भनेका छन्, “हामीहरुको खोजले ठूलो संख्यामा हाम्रा नानीबाबुहरुमा एडीएचडी गलत पहिचान हुने र तिनको अनावश्यक उपचार भइरहेको संकेत गरेको छ । किनकि एडीएचडी पहिचान गरिएकाहरु प्राथमिक स्कूलको प्रारम्भिक वर्षहरुमा बढी उमेर सहपाठीभन्दा तुलनात्मक रुपमा कान्छो हुने पाइएको छ । ”
यो कुनै अनौठो कुरा होइन
अभिभावकहरुलाई तिनका भर्खर पाँच वर्षमा टेकेका बालबालिकाहरुको विकास तिनका ६ वर्ष लाग्न लागेका बालबालिकाहरुभन्दा फरक हुन्छ भनेर जानकारी दिन हारवार्ड नै चाँहिदैन ।
बरु उनीहरुलाई सरकारको स्कूलिङको उद्देश्य र म्याण्डेटलाई चुनौती दिन र चाहेमा त्यसबाट बाहिरिन सक्ने गरि सशक्त गरिनुपर्छ ।
विश्वभरी पूर्वप्राथमिक विद्यालयको परम्परा आम हुँदै गएको आजको अवस्थामा आफ्ना बालबालिकाहरुलाई ढिलो गरी स्कुल पठाउन र स्कुलनै नपठाउन अभिभावकलाई गाह्रो हुन्छ ।
तर, विद्यालयमा भर्ना हुने कुरा बढी कठोर हुँदै गर्दा र यसले बालबालिकाहरुको बालापनको ठूलो हिस्सा खाइरहँदा यसले बालबालिकाहरलाई बढ्दो मात्रामा हानि पुर्याइरहेको छ ।
कलिलो उमेरमा आफूहरुमाथि थोपरिएको यति ठूलो अवास्तविक शैक्षिक अपेक्षा धेरैले पुरा गर्न सक्दैनन् । अनि अपेक्षा अनुरुप नउत्रिँदालाई यसलाई विकार भनेर उनीहको औषधोपचार चलाइन्छ ।
दुःखद कुरा विद्यालयमा भर्ना ढिलो गर्ने हो भने यी कुनै पनि समस्या हुँदैन । अभिभावकहरुले यो डरलाग्दो प्रवित्तिविरुद्ध आवाज उठाउनु पर्छ ।
(फाउण्डेशन फर इकोनोमिक एजुकेशनको वेवसाइटको लागि केरी म्याकडोनाल्डले तयार पारेको आलेख)