औद्योगिक क्षेत्र प्रदेश सरकार मातहत हुनुपर्छ : नेपाल

गुगलपाटी संवाददाता हेटौंडा,२० मंसिर
२० मंसिर २०७५ ११:४८

तीन नम्बर प्रदेशका उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले औद्योगिक क्षेत्रहरु प्रदेश उद्योग मन्त्रालय अन्तर्गत हुनुपर्ने बताएका छन् । हेटौैंडा औद्योगिक क्षेत्रको ५५ औं वार्षिकोत्सव कार्यक्रम उद्घाटन गर्दै आज मन्त्री नेपालले संघीय सरकार मातहत रहेका औद्योगिक क्षेत्रहरु प्रदेश सरकार मातहत हुनुपर्ने बताएका हुन् ।
तीन नम्बर प्रदेशमा चार वटा औद्योगिक क्षेत्र रहेका छन् । औद्यागिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष तथा महाप्रबन्धक नन्दकिशोर बस्नेतले तीन नम्बर प्रदेशलाई औद्योगिक हब निर्माण गर्नेल लक्ष्य रहेको बताए । हेटौंडा औद्योगिक क्षेत्रमा नयाँ उद्योग स्थापनाको लागि जग्गा अभाव भएको हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख नेपाल भुषण बैद्यले बताए ।

५५ वर्ष अघि ३१ सय १९ रोपनी जग्गामा स्थापना भएको औद्योगिक क्षेत्रको सबै जग्गा उपयोगमा रहेको छ । औद्योगिक क्षेत्रमा हाल एकसय ३५ वटा उद्योग दर्ता रहेका छन् । तीमध्ये एकसय एक वटा चालु अवस्थामा रहेको, ३१ निर्माणाधिन अवस्थामा र तिनवटा उभोग बन्द रहेको व्यवस्थापन कार्यालयले जनाएको छ ।
कार्यक्रममा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका सदस्य माधव अधिकारी, तीन नम्बर प्रदेश उद्योग परिसंघका संयोजक ऋषिराम घिमिरे,उद्योग संघ मकवानपुरका अध्यष नवराज अर्याल,हेटौंडा औद्योगिक क्षेत्र ब्यवस्थापन कार्यालयका प्रमुख नेपाल भुषण बैद्य लगायतले बोलेका थिए ।