५ वर्षीया बालिकासमेत सामुहिक बलात्कारको सिकार

बुटवल, २२ मंसिर
२२ मंसिर २०७५ ०३:०४

देशभर बलात्कारको घटनामा वृद्धि भइरहेको बेला रुपन्देहीमा ५ वर्षीया बालिकासमेत सामुहिक बलात्कारको सिकार भएकी छन् ।

देवदह नगरपालिकास्थित खैरेनी बजारकी दलित बालिकामाथि शुक्रबार राति सामूहिक बलात्कार भएको हो ।
बालिकाकी आमा सुत्केरी बस्न माइत गएको र घरमा बुवा पनि नभएका बेला घरनजिकैको टहरोमा बालिकाको बलात्कार भएको इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत प्रहरी निरीक्षक ऋषिराम घर्ती मगरले जानकारी दिए ।
बलात्कृत बालिकाको अहिले बुटवलको लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । बालिका बलात्कार आरोपमा प्रहरीले ६ जना स्थानीय युवालाई पक्रेको छ । नियन्त्रणमा लिइएका ६ मध्ये देवदह नगरपालिका– ६ का २२ वर्षीय लक्ष्मण विक र देवदह–७ का १८ वर्षीय जीवन खत्रीले बलात्कार गरेको स्वीकारेका छन् ।

अन्य ४ जनामाथि पनि अहिले अनुसन्धान भइरहेको प्रहरी निरीक्षक घर्तीमगरले जानकारी दिए । ‘पक्राउ परेका २ ले अपराध स्वीकारिसकेका छन्’, प्रहरी निरीक्षक घर्तीमगरले भने, ‘अन्य ४ जनासँग पनि अनुसन्धान भइरहेको छ ।’