संसदीय सुनुवाइमा प्रधानमन्त्रीको बिहे चर्चा !
गुगलपाटी संवाददातासंसदीय सुनुवाइ विशेष समितिले चार देशका लागि प्रस्तावित राजदूतको नाम सर्वसम्मत अनुमोदन गरेको छ। आइतबारको समिति बैठकले भारतका लागि निलाम्बर आचार्य, मलेसियाका लागि उदयराज पाण्डे, इजरायलका लागि अन्जान शाक्य र युनाइटेड अरब इमिरेटस (यूएई) का लागि प्रस्तावित राजदूत कृष्णप्रसाद ढकालको नाम सर्वसम्मत अनुमोदन गरेको हो। संसदीय समितिबाट अनुमोदन भएसँगै चारै जनाको नियुक्तिका लागि बाटो खुलेको छ।
राजदूतको सुनुवाइ समितिमा प्रधानमन्त्री केपी ओलीको बिहेको प्रसंगसमेत चलेको छ। इजरालयका लागि प्रस्तावित राजदूत शाक्यलाई प्रधानमन्त्री ओलीकी साली नाता पर्ने भन्दै सञ्चारमाध्यममा समाचार प्रकाशित/प्रसारित भएपछि समितिमा यो विषयले प्रवेश पाएको हो।
संघीय समाजवादी फोरममा राजेन्द्र श्रेष्ठ र कांग्रेसका भीमसेनदास प्रधानले ओलीकी साली नाता पर्ने भन्दै शाक्यका विषयमा झुटा समाचार प्रकाशित/प्रसारित भएको भन्दै खण्डन गरे।
‘यो त सुरेन्द्र कमरेड (नेकपाका नेता सुरेन्द्र पाण्डे)लाई झलनाथ खनालको साढु भाइ भने जस्तै हो,’ फोरमका श्रेष्ठले भने, ‘कुनै साइनो पनि नभएकालाई फलानीको साली भनेर लेख्नु गलत हो।’
त्यसपछि समितिमा नेकपाका नेता पाण्डेले पनि राजदूतमा सिफारिस शाक्य र प्रधानमन्त्रीको कुनै पनि नाता नपर्ने दाबी गरे। ‘केपी ओलीको बिहे नै मैले गरिदिएको हूँ,’ ठट्यौली शैलीमा पाण्डेले भने, ‘कुरै नबुझी पत्रकारले समाचार लेख्ने गरेकाले बेला बेलामा समस्या आइलाग्छ।’
२०४६ सालमा बहुदल आएको बेलाको प्रसंग उल्लेख गर्दै पाण्डेले भने, ‘बहुदल आएको बेला पार्टीले मलाई विराटनगरबाट कर्णालीको इञ्जार्जको जिम्मेवारी दियो। विराटनगरका पत्रकारले मदन भण्डारीको जेठानको सरुवा भनेर समाचार लेखे। हालका राष्ट्रपतिको थर पनि पाण्डे भएकाले मलाई मदन भण्डारीको जेठान बनाइदिएका थिए।’ आजको अन्नपूर्ण पोष्टमा समाचार छापिएको छ ।