प्रथम राक्सिराङ गोल्डपक फुटवल प्रतियोगिता सुरु
गुगलपाटी संवाददाता
हेटौंडा,२५ मंसिर/मकवानपुरको पश्चिमी राक्सिराङ गाउँपालिकामा आजदेखि प्रथम राक्सिराङ रनिङशिल्ड गोल्डपक फुटवल प्रतियोगिता सुरु भएको छ । राक्सिराङ गाउँपालिका युवा तथा खेलकुद विकास समितिको आयोजना सुरु भएको प्रतियोगिताको उद्घाटन तीन नम्बर प्रदेशसभाका सदस्य ओम बहादुर घलानको प्रमुख आतिथ्यतामा भएको हो ।
प्रतियोगिताको उद्घाटन खेल राक्सिराङ ७ र ९ नम्बर वडाबीच भएको थियो । खेल दुबै टिमबाट एक एक आत्मघाती गोल भएर बराबरीमा सकिएको हो ।
प्रतियोगिताको उद्घाटनमा गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, उपाध्यक्ष निर्मला हिमडुङ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सिना, जिल्ला फुटवल संघका अध्यक्ष टिका लामा, नेपाली काँग्रेस मकवानपुरका सचिव बुद्ध लामा, राक्सिराङ गाउँपालिकाका नौ वटै वडाका अध्यक्षहरु लगायतको आतिथ्यता रहेको थियो । राक्सिराङ गाउँपालिका युवा तथा खेलकुद विकास समितिका अध्यक्ष सन्तोष थापा मगरको सभाध्यक्षतामा उद्घाटन खेल भएको थियो ।
पुस छ गतेसम्म राक्सिराङ ५ बोटबारीस्थित खेलमैदानमा सुरु प्रतियोगितामा नौ वडाका नौ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताका प्रथम हुने टिमलाई ५० हजार नगद, दुइ तोला सुन र ३० तोला चाँदी जडित गोल्डकप, मेडल र प्रमाणपत्र, दोस्रो हुनेलाई २५ हजार नगद सहित शिल्ड मेलड प्रमाणपत्र दिइने आयोजकले जनाएको छ । विकास, अनुशासन र गतिशिलता भन्ने नाराका साथ पहिलो सुरु भएको प्रतियोगिता लिग कम नकआउटको आधारमा खेलाइएको छ ।