देउवा नगएपछि संवैधानिक परिषद्को बैठक फेरि स्थगित

गुगलपाटी संवाददाता
२६ मंसिर २०७५ ०५:२६

काँग्रेस सभापति तथा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा अनुपस्थित भएपछि आज बुधबार बिहान बोलाइएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार केहीबेर बैठक बसे पनि देउवा नआएपछि कुनै निर्णय हुन सकेन ।

मंगलबार बस्ने भनिएको बैठक देउवाकै कारण पुस ५ गतेका लागि सारिएको थियो । तर प्रधानन्यायाधीशको नाम प्रस्ताव गरी संसदीय सुनुवाई गरेर नियुक्ति गर्न ढिलाइ हुने भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक आजै बिहान बोलाएका थिए ।

राती अबेर गरी खबर आएकाले सभापति बैठकमा जान नभ्याएको उनका स्वकीय सचिव भानु देउवाले बताएका छन् । मंसिर १६ गते बैठक चल्दाचल्दै परिषद्का सदस्य तथा विपक्षी दलका नेता देउवा बाहिरिएपछि प्रधानन्यायाधीशको नाम सिफारिस हुन सकेको थिएन ।

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण आगामी पुस १७ गतेबाट अनिवार्य अवकास पाउँदैछन्। न्याय परिषद्ले प्रधानन्यायाधीशका लागि योग्यता पुगेका दुई जना न्यायाधीश दीपकराज जोशी र चोलेन्द्र शमशेर राणाको नाम संवैधानिक परिषदमा पठाइसकेको छ ।

प्रधानन्यायाधीश हुन सर्वोच्चमा तीन वर्ष न्यायाधीश भइसकेको हुनुपर्ने संवैधानिक व्यवस्था छ। संसदीय सुनुवाइ समितिले जोशीलाई यसअघि नै प्रधानन्यायाधीशका लागि अस्वीकृत गरेको थियो।