मुख्यमन्त्रीले भनेः हेटौंडाबाट राजधानी सर्दैन
गुगलपाटी संवाददाताप्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश राजधानी हेटौंडाबाट अन्यत्र नसर्ने दावी गरेका छन् । बुधबार रिपोर्टस क्लब काठमाडौंमा आयोजित साक्षात्कारमा पौडेलले राजधानी तलमाथि गरेमा भौतिक संरचना तयार पार्नमै समय खेर जाने भन्दै हेटौंडा नै कायम गरिने बताएका हुन् । आगामी पुसभित्रै प्रदेशको नामाकरण गर्ने दाबी पनि उनले गरेका छन् ।
‘आउने पुसभित्रै प्रदेश ३ को नामाकरण गर्छौं । तर अहिले राजधानी तलमाथि गरियो भने एक वर्ष फेरि भौतिक संरचना तयार पार्नकै लागि समय खेर जान्छ । हामीले नसकेर नामाकरण नगरेको होइन । हामी यो जम्माजम्मी दश महिना भुईँ र सुकुलमा बसेर काम गरेका हौं । यो अवधिमा हामीले सारा संरचना तयार गर्यौं । हामी बल्ल ट्रयाकमा हिँडेका छौं ।’
मुख्यमन्त्री पौडेलले आफूहरु भर्खरै एउटा ट्रयाकमा हिँड्न थालेको र अब विकास निर्माणको कामले गति लिनुपर्छ भनेर हिँडिरहेको अवस्थामा राजधानीलाई तलमाथि गरिए एक वर्ष ब्याक हुने धारणा राखे ।
उनले भने, ‘हाम्रो राजधानी अहिले जहाँ छ, जसरी काम भइरहेको छ । भौतिक संरचनासहित त्यहाँ सेटअप छ । अब त्यो ठाउँबाट राजधानी लानेबित्तिकै हामीले यो वर्ष गरिएका योजनाहरुलाई बाधा पुर्याउँछ ।’