स्थानीय पत्रपत्रिकाः कर बुझाउनुस्, भारी छुट पाउनूस्

गुगलपाटी संवाददाता
२७ मंसिर २०७५ ०२:१२

आज हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाले उद्योग मन्त्री मात्रिका यादवको भनाइ, हेटौंडा सिमेन्ट उद्योगको ३४ वर्षे यात्रा, बेलायती राजदूतसँग प्रदेश मन्त्रीको भेटघाट, आन्तरिक राजस्व कार्यालयद्धारा करमा भारी छुटलगायतको समाचार प्रकाशित गरेको छ ।

आजको साझाकुरा दैनिकले आन्तरिक राजस्व कार्यालय हेटौंडामा कर बक्यौता भएका करदाताको लागि विशेष छुट योजना ल्याएको समाचार छापेको छ । आगामी पुस मसान्तसम्म कर बुझाउन छुट पाउने कार्यालयले जनाएको छ । भ्याटको मासिक कारोबार नबुझाएकाहरुले २०७२ असार मसान्तसम्मको सम्पूर्ण जरिवाना रकम छुट गरिएको छ ।

भ्याटमा दर्ता भई कारोबार नै नगरेकाहरुले २०७२ सालयताको जरिवाना रकम मात्र बुझाउँदा त्यसअघिको सबै जरिवाना रकम खारेज हुने आन्तरिक राजस्व कार्यालय हेटौंडाका प्रमुख कर अधिकृत सन्तराज ढकालले जानकारी दिए ।

त्यस्तै आयकर नुझाउनेहरुको २०७२ सालसम्मको सम्पूर्ण कर छुट पाउने कार्यालयले जनाएको छ । उनीहरुले २०७२ सालयताको वार्षिक आयकर मात्र बुझाउँदा त्यसअघिको जति नै वर्षको आयकर नबुझाएको भए पनि छुट पाउनेछन् । मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष रामप्रसाद न्यौपानेले कार्यालयले उपलब्ध गराएको छुटको उपयोग गरी समयमै कर तिर्न सबैलाई आग्रह गरेका छन् ।

त्यस्तै आजको हेटौंडा सन्देश दैनिकले विकासमा सहकार्य गर्ने विषयमा बेलायती राजदूतले ३ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलसम्ग छलफल गरेको समाचार प्रकाशित गरेको छ । बेलायती राजदूत रिचार्ड मोरिससँगको भेटमा मन्त्री जम्कट्टेलले विकासमा सहकार्य गर्न आग्रह गरे ।

त्यस्तै समृद्ध समाज दैनिकले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले उद्योग सञ्चालन गर्ने या बन्द गर्ने भन्ने कुरा कर्मचारीको हातमा हुने बताएको समाचार छापेको छ । हेटौंडा सिमेन्ट उद्योगको ३३ औं वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै मन्त्री यादवले यस्तो बताएका हुन् ।

हेटौंडा सिमेन्ट उद्योग केही वर्षयता नाफामा रहेको समाचार आजको प्रदेश दैनिकले छापेको छ । २०७१ सालयता उद्योगले २० करोडको हाराहारीमा नाफा आर्जन गरेको जनाइएको छ ।

हेर्नुहोस् आजका दैनिक पत्रिकाको पहिलो पृष्ठ