जन्ती बस दूर्घटनाः बेहुलाको आमाबाबुसहित ६ जनाको मृत्यु

गुगलपाटी संवाददाता
२७ मंसिर २०७५ ०५:११

दाङको लमही नगरपालिका वडा नम्बर ९ रिहार नजिक स्कारपियो र बस ठोक्किँदा ६ जनाको मृत्यु भएको छ ।

२ जना घाइते भएका छन् । चितवन गितानगरबाट बाँकेको शमसेरगञ्ज फर्कँदै गरेको बा १२ च ३१२२ नम्बरको स्कारपियो र महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको ना ५ ख ४०९० नम्बरको बस ठोक्किएर दुर्घटना भएको हो ।

स्कारपियोमा सवार ८ जना मध्ये ६ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार २ जना घाइतेको कोहलपुरमा उपचार भइरहेको छ । मृत्युु हुनेमा दुलाहाका बुवाआमा र आफन्त छन् । दुलाहाका बुवा बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ निवासी ५३ वर्षका मानबहादुर केसी, ४५ वर्षका आमा बीमला खत्रीको दुर्घटनामा मृत्यु भएको छ । ४९ वर्षका विश्वनाथ अधिकारी, ५ वर्षका प्रविण केसी, ३१ वर्षका दीपककुमार खड्का र कोहलपुर नगरपालिका १२ निवासी ७८ वर्षका दत्तबहादुर खत्रीको पनि मृत्यु भएको ईलाका प्रहरी कार्यालय अमिलियाले जानकारी दिएको छ ।

दुर्घटनामा ४५ वर्षका गीतादेवी खत्री र चालक २१ वर्षका यमबहादुर मगर घाइते हुनु भएको छ । दुलही र दुलहा अर्को स्कारपियोमा थिए । बुवाआमा र आफन्त चढेको स्कारपियो दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।