उत्पादन क्षमता बढाउँदै डीडीसी

गुगलपाटी संवाददाता
१ पुष २०७५ ००:३१

हेटौंडा–सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी) को हेटौँडा दुग्ध वितरण आयोजनाले गुणस्तरीय दुग्ध पदार्थको उत्पादन तथा बिक्री वितणका लागि उत्पादन क्षमताको विस्तार एवम् सुधार प्रक्रिया अगाडि बढाएको छ ।

प्रतिघण्टा तीन हजार लिटर दूध प्रशोधन गर्दै आएको आयोजनाले प्राविधिक क्षमता सुधार गरी दैनिक प्रतिघण्टा पाँच हजार लिटर दूध प्रशोधन गर्ने योजनामा लागेको छ । साथै विभिन्न किसिमका मिठाइ उत्पादन गर्दै आएको आयोजनाले रसबरी र फ्रेस मिल्क पनि उत्पादन सुरु गरेको जनाएको छ ।

त्यस्तै आयोजनाको परिसरमा रहेको दूग्ध कारखानाको सरसफाइ र मेसिनको गुणस्तरमा पनि सुधार गरेको आयोजनाका प्रमुख गणेश यादवले जानकारी दिए ।

सर्लाही, रौतहट, मकवानपुर र बाराका किसानबाट दैनिक दूध खरिद एवम् संकलन गरी हेटौँडा, वीरगञ्ज र नारायणगढसम्म दूध तथा दुग्ध पदार्थबाट बनेका सामग्री बिक्री वितरण भैरहेको आयोजनाले जनाएको छ ।