स्थानीय पत्रपत्रिकाः एकसय ८ बुद्धका मुर्ति बनाउँदै हेटौंडाका व्यवसायी

गुगलपाटी संवाददाता
१ पुष २०७५ ०२:०४

हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाले फरक फरक विषयलाई प्रमुखताका साथ छापेका छन् । एकसय ८ बुद्धका मूर्ति स्थापना गर्ने अभियानमा हेटौंडाको व्यवसायी सक्रिय भएकोदेखि विद्युत् प्राधिकरणको क्षेत्रीय कार्यालय हेटौंडासँग प्राधिकरणको विद्युत् चुहावन नियन्त्रण गर्ने कार्यसम्पाद सम्झौता भएको खबर आजका पत्रपत्रिकामा छन् । घरेलु हिंसा बढ्दै गएको समाचार पनि छापिएको छ ।

देशका विभिन्न स्थानमा एकसय आठ बुद्धको प्रतिमा स्थापना गर्ने अभियानमा हेटौंडका व्यवसायी सक्रिय रुपले लागेको आजको साझाकुरा दैनिकले पहिलो पृष्ठमा समाचार लेखेको छ । देशभर बुद्धमूर्ति स्थापना गर्नमा सुनचाँदी व्यवसायी ज्योतिरत्न बज्राचार्यको व्यस्तता बढेका छ ।

दुई वर्ष अगाडिमात्र देशभरका विभिन्न स्थानमा माग भएअनुसार एकसय आठवटा बुद्धको प्रतिमा बनाएर विश्व शान्तिको कामना गर्ने अभियानका साथ अगाडि बढेको बज्राचार्यले हालसम्म १६ वटा स्थापना गरिसकेका छन् । यस वर्षभित्रमा उनले २५ वटा बनाउने लक्ष्य लिएका छन् ।

‘समुदायले संरक्षण गर्ने स्थानमा बुद्धको प्रतिमा बनाउन म तयार छु । मैले हालसम्म समुदायस्तरबाट माग भएको स्थानमा मात्र निर्माण गरेको छु । अब उपयुक्त स्थान खोजेर समेत निर्माण गर्ने विचार छ’, उनले भने ।

उनका अनुसार एउटा प्रतिमाका लागत भनेर ठाउँ अनुसार फरक फरक हुने गरेको छ । हालसम्म निर्माण भएको प्रतिमा तीनलाख रुपियाँदेखि पाँचलाख रुपियाँसम्मका रहेका छन् ।

‘नेपाललाई चिनाउने भनेको सगरमाथापछि बुद्ध नै हो । त्यसकारण हामीले यसको व्यापक प्रचारप्रसार गर्न जरुरी रहेको छ’, हेटौंडा–१० राप्तीरोडका पुराना व्यवसायी समेत रहेका उनले भने,‘बुद्ध नेपालमा जन्मेको भनेर नारा लाउन पर्ने समय आइसक्यो । अब त्यसो गर्न नपरोस् भनेर अभियान चलाएको हुँ ।’

प्राधिकरणका कर्मचारीसँग सम्झौता भएको समाचार आजको हेटौंडा सन्देशमा छ । नेपाल विद्युत् प्राधिकरणले आफले प्रवाह गर्ने सेवा सुविधा सुधार ल्याउनको लागि कर्मचारीसँग कार्यसम्पादन सम्झौता गरेको छ ।

प्राधिकरणले शनिबार क्षेत्रीय कार्यालय हेटौंडा र मातहतका कार्यालयसँग कार्य सम्पादन सम्झौता गरेको हो ।

आजको प्रदेश दैनिकले मकवानपुरमा घरेलु हिंसा बढेको समाचार छापेको छ । मकवानपुरमा पछिल्लो वर्षहरुमा घरेलु हिंसा बढ्दै गएको पाइएको छ ।

चालु वर्षको मंसिर महिनामा मात्र जिल्ला प्रहरी कार्यालय मकवानपुरको महिला सेलमा एक सय ९९ वटा घरेलु हिंसाको उजुरी परेको छ ।
हेर्नुहोस् आजका दैनिक पत्रिकाको पहिलो पृष्ठ