विदेशी ज्वाईंलाई नागरिकता दिलाउन खोज्दा प्रहरी फन्दामा
गुगलपाटी संवाददातामहोत्तरी — झूटो विवरण पेस गरी नागरिता दिलाउन लागिपर्ने र नेपाली नागरिकता लिने प्रयास गर्ने विदेशी नागरिक र उनका नेपाली सासु प्रहरीको फन्दामा परेका छन् ।
गौशाला इलाका प्रहरी कार्यालयले औरही नगरपालिका ३ का शिवोदेवी र उनका २२ वर्षीय भारतीय ज्वाइँ राजपाल सहनीलाई सोमबार घरबाटै नियन्त्रणमा लिएको हो ।
प्रहरी निरीक्षक किशोर आचार्यका अनुसार शिवोले ९ वर्षअघि सर्पले डसेर मृत्यु भएका छोरो सरोज सहनीको नामबाट विदेशी ज्वाइँलाई नागरिता दिलाउन खोजेको अनुसन्धानमा खुलेको छ ।
उनका ज्वाइँ राजपालले आफू भारत विहारको मुजफरपुर जिल्ला दौराअसली गाउँका निवासी रहेको सोधपुछका क्रममा स्विकारेको आचार्यले जनाए । आचार्यका अनुसार रामपालको साथबाट भारत सरकारबाट जारी आधार कार्ड थान १ र पूर्वोत्तर भारतको मणिपुर राज्यले दिएको डीएल १८४९९३रवीपीआर नंको मोटर ड्राइभिङ लाइसेन्ससमेत बरामद भएको छ ।
मृत छोरोको जन्मदर्ता लगायत प्रमाण जुटाई शिवोले गौशालास्थित इलाका प्रशासनमा नागरिकता पाउँ भनी ज्वाइँलाई आवेदन दिन लगाएकी थिइन् । आवेदनमा शंका लागि इलाका प्रशासनले पुस २८ गते सरजमिन मुचुल्काका लागि प्रहरीमा पत्र काटेको थियो ।
प्रशासनको पत्रमाथि कारवाही गर्दै सोमबार प्रहरी निरीक्षक आचार्य आफैं सर्जमिन मुचुल्का गर्न औरही पुगेका थिए । गाउँलेसँग सोधपुछ गर्दा विवरण फरक परेपछि दुवैलाई नियन्त्रण लिइएको उनले जनाए ।
‘मृतक सरोजको नाम राखी नागरिकता लिन खोज्ने भारतीय नागरिक रामपाल, आमा बनेर उनलाई नागरिकता लिनका लागि योजना बनाउने सासू शिवोलाई हिरासतमा राखी अनुसन्धान सुरु गरिएको छ,’ आचार्यले भने ।
गलत व्यक्तिलाई नागरिकता दिलाउन सहयोग र सिफारिस गर्ने थप व्यक्तिसमेत तानिन सक्ने प्रहरीले जनाएको छ । झूटो नागरिकता प्रकरणमा मुछिएका सासू र ज्वाइँलाई हिरासतमा राखी अनुसन्धान गर्न महोत्तरी जिल्ला अदालतबाट ८ दिनको म्याद थप भएको छ ।