काँग्रेसमा पदाधिकारी विवाद मिल्यो, कोषाध्यक्षबाहेक सबै निर्वाचित हुनुपर्ने

गुगलपाटी संवाददाता
४ पुष २०७५ ००:४२

लामो बहसपछि नेपाली काँग्रेसको महासमिति बैठकमा पदाधिकारीसम्बन्धी व्यवस्थामा सहमती जुटेको छ ।

शीर्ष तहमा भएको सहमतिअनुसार अब कांग्रेसमा उपसभापति, महामन्त्री र सहमहामन्त्री २-२ जना हुनेछन् । सभापतिसँगै उनीहरु पनि महाधिवेशनबाटै चुनिनेछन् ।

कोषाध्यक्ष भने मनोनित हुनेछ । निर्वाचत केन्द्रीय सदस्यहरु मध्येबाट कोषाध्यक्ष मनोनित गर्ने सहमति जुटेको छ । प्रवक्ता पदाधिकारी मध्ये वा केन्द्रीय सदस्यलाई दिन सकिनेछ ।

अहिलेको विधानमा सभापतिसँग एक महामन्त्री र कोषध्यक्ष मात्र निर्वाचित हुने व्यवस्था थियो । उपसभापतिसँगै एक महामन्त्री, सहमहामन्त्री भने सभापतिले मनोनित गर्ने र केन्द्रीय कार्यसमितिले अनुमोदन गर्ने व्यवस्था थियो । पछिल्लो पटक फोरम लोकतान्त्रिकसँग भएको राजनीतिक सहमतिका आधारमा एक उपसभापति थपियो ।

महामन्त्री पूर्णबहादुर खड्काको विधान संशोधन मस्यौदा समितिले संख्या र निर्वाचन पद्धतीमा सहमति जुटाउन नसकेपछि अहिलेकै पदाधिकारी कायम राख्न प्रस्ताव गरेको थियो । तर, वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला समूहका नेताले फरक मत राखे ।

त्यसपछि भएको छलफलमा विभिन्न विकल्प आएपछि अन्तत २/२/२ मा सहमति जुटेको छ । यो पार्टी सभापति शेरबहादुर देउवाले अघि सारेको प्रस्ताव हो तर, निर्वाचन पद्धतीमा भने वरिष्ठ नेता रामचन्द्र पौडेलको अडान सदर भएको छ ।