काँग्रेस महासमिमिा यसरी छिर्दैछ हिन्दु राष्ट्रको एजेन्डा

गुगलपाटी संवाददाता
५ पुष २०७५ ००:३६

नेपाली काँग्रेसको महासमिति बैठकमा हिन्दु राष्ट्रबारेको बहस प्रस्तावकै रुपमा जाने भएको छ । महासमिति सदस्यको ४० प्रतिशत हस्ताक्षर बुझाएर जारी महासमिति बैठकमा औपचारिक प्रस्ताव लैजान केही नेताहरु लागिपरेका छन् ।

उपस्थित ४० प्रतिशत महासमिति सदस्यको हस्ताक्षरसहितको हिन्दु राज्य कायम हुनुपर्ने एजेन्डा महासमितिमा प्रस्तुत गर्न लागिएको हो । त्यसका लागि महासमिति सदस्य तथा कांग्रेस नेता शंकर भण्डारी कस्सिएर लागेका छन् ।

उपसभापति विमलेन्द्र निधिलगायतका केही नेता उक्त एजेन्डाको विरोधमा रहेका बेला महासमिति सदस्यको हस्ताक्षरबाट नै वैधानिकता दिने काममा भण्डारी जुटेका हुन् । त्यसबाहेक महामन्त्री डा. शशांक कोइरालाले पनि हिन्दु राज्यका विषयमा मतदान गर्नका लागि आफुनजिकका महासमिति सदस्यलाई भनिसकेका छन् ।

बैठकस्थलमा उक्त विषयमा सहमति जनाउने सदस्यले हस्ताक्षर गर्नका लागि भनिएको छ । भण्डारीले हस्ताक्षरका लागि माइन्युट र रजिष्ट्ररको व्यवस्था गरेका छन् ।

कांग्रेस सनातन हिन्दु धर्मको पक्षमा उभिए आगामी राजनीतिक कार्यदिशा प्रभावकारी हुने नेताहरूको बुझाई छ । यो अभियान तत्कालिन नेता स्व. खुमबहादुर खड्काले सुरु गरेका थिए । उनले त कांग्रेसको एउटा कित्ताका कार्यकर्ता बोकेर हिन्दु राष्ट्र संविधानसम्मत हिसाबले नै आउनुपर्ने भन्दै अभियान चलाएका थिए । संविधान जारी पूर्वको संविधानसभाका अध्यक्षलाई भेटेर खड्काले ज्ञापनपत्र पनि बुझाएका थिए । उनको अभियानलाई मर्न नदिनका लागि महासमितिमा यो मुद्दालाई व्यापक बनाउने कोशीश गरिएको छ ।

‘यो निष्ठावान् नेता खुबहादुर खड्काको अभियान थियो । अहिले महामन्त्री कोइरालाले पनि उठाउनु भएको विषय हो । यसलाई वैधानिक एजेन्डाका आधारमा मतदानमा लैजाने तयारी भएको छ’, स्रोतले भन्यो,‘त्यसो भयो भने अझै केही दिनसम्म महासमिति बैठक चल्न सक्छ ।’

कम्युनिस्टहरूको लहै लहैमा लागेर आन्दोलनको म्यान्डेडविपरित धर्म निरपेक्षतामा कांग्रेसले सहमति जनाउँदा गल्ती गरिएको भन्दै त्यसलाई सकार्नका लागि महासमितिमा हिन्दु राष्ट्रका पक्षमा मतदान हुने व्यवस्था मिलाउन लागिएको बताइन्छ ।

‘हिन्दु राष्ट्रको मानकबाट हट्नका लागि महासमिति बैठक भएको थिएन । तत्कालिन सभापति गिरीजाप्रसाद कोइरालाको ह्विका कारण सांसदले मात्र हटाएको विषयलाई हामी पार्टीको आधिकारीक एजेन्डा स्थापित गराउन अघि बढिरहेका छौं’, एक महासमिति सदस्यले भने,‘कांग्रेसको पहिचान नै गुमिसकेको अवस्थामा असली पहिचानका लागि पनि यो एजेन्डा पारित हुन आवश्यक छ । अन्यथा हामीलाई राप्रपाले पनि मुद्दाका हिसाबमा पछि पार्ने खतरा छ ।’

एजेन्डा बने के हुन्छ ?

यदि ४० प्रतिशत सदस्यको हस्ताक्षरले हिन्दु राष्ट्रको विषय एजेन्डा बन्यो भने यसका पक्षधरले मतदानको माग गर्नेछन् । मतदान भएको खण्डमा हस्ताक्षर नगरेका सदस्यले पनि हिन्दु राष्ट्र, धर्मनिरपेक्षताविरुद्ध मतदान गर्नेमा उनीहरू ढुक्क छन् ।

महासमिति बैठकले पारित गरेको विषयलाई कांग्रेसले सरकारविरुद्ध गर्ने भनेको सभा र सम्मेलनमा मुद्दाका विषयमा उठाउने तयारी गरेको छ । जसअन्तर्गत हिन्दु राष्ट्रको पक्ष र विपक्षका विषयमा जनमत संग्रहसम्मको माग हुनेछ । ‘यसपछि बलियो कांग्रेस सरकारले पनि देख्नेछ, कांग्रेसले पनि महसुस गर्नेछ’, एक नेताले भने ।