युवालाई लोकसेवा पढाउँदै हेटौंडा १ नम्बर वडा

गुगलपाटी संवाददाता
६ पुष २०७५ ००:२६

हेटौंडा– हेटौंडा वडा नम्बर १ को आयोजनामा बिहीबारदेखि लोकसेवा तयारी कक्षाको उद्घाटन गरिएको छ । वडा नम्बर १ भित्र रहेका दश जोड दुई उत्तीर्ण गृहिणी तथा युवा युवतीलाई लक्षित गरी नायब सुब्बा तहको लोकसेवा तयारी कक्षा सुरु गरिएको हो । लोकसेवाको तयारी कक्षामा २५ जना युवा युवतीको सहभागिता रहेको छ ।

तीन महिनासम्म सञ्चालन हुने कक्षा सञ्चालनको लागि हेटौंडा–२ मा रहेको ब्राम्ही एजुकेशन कन्सल्टेन्सी प्रालीलाई जिम्मा दिइएको छ । वडाले छुट्याएको ५० हजार बजेटबाट उक्त कक्षा सञ्चालन गरिएको हो ।

हेटौंडा–१ नम्बर वडा अध्यक्ष सविन न्यौपानेको अध्यक्षतामा भएको तयारी कक्षा सुरुवात कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख हरिबहादुर महतले केही समयअघि मकवानपुरलाई ‘ड्राइभर खलासी’को जिल्ला भनेर चिनिने गरेकोमा पछिल्लो समय शैक्षिक जनशक्ति अभिवृद्धिसँगै राष्ट्रसेवक कर्मचारी उत्पादन हुँदै गएको भन्दै खुसी व्यक्त गरे ।

१ नम्बर वडा अध्यक्ष सविन न्यौपानेले हेटौंडा उपमहानगरको बजेटबाट निशुल्क रुपमा तयारी कक्षा लिन पाउनु अवसर भएको भन्दै ध्यान दिएर पढेर सरकारी सेवामा प्रवेशको लागि योग्य बन्न शुभकामना दिए । लोकसेवा तयारी कक्षामा गृहिणी महिलाको पनि आकर्षण बढेको भन्दै उनले खुसीसमेत व्यक्त गरे ।

ब्राम्ही एजुकेशन कन्सल्टेन्सी प्रा.लि. हेटौंडा–२ संगमचोकको जिम्मेवारी । अयोध्या भट्टराईले सिकाएको विषयवस्तुलाई राम्ररी सिके अधिकतम नतिजा निकाल्न सकिने बताए । कार्यक्रममा १ नम्बर वडा सदस्य सोमलाल स्याङ्तान, बेगम बराल, ईश्वरी रसाइलीलगायतको आतिथ्यता रहेको थियो ।