आजदेखि सातौं साहित्यिक महोत्सव
गुगलपाटी संवाददाताबुकवर्म फाउन्डेसनको आयोजना रहेको सातौं नेपाल साहित्य महोत्सव आज शनिबारदेखि पोखरामा सुरु हुँदैछ । ‘सौन्दर्यको सहरमा शब्दहरुको संकथन’ ट्यागलाइन दिइएको महोत्सवमा विभिन्न देशका ख्यातिप्राप्त लेखक साहित्यकार वक्ताका रुपमा सहभागी हुँदैछन् । महोत्सवमा सहभागी हुने अन्तर्राष्ट्रिय लेखकहरुमा चर्चित पाकिस्तानी लेखक मोहम्मद हनिफ, नेपाली मूलका भारतीय लेखक प्रज्ज्वल पराजुली, बेलायती ग्राफिक नोभलिस्ट डाक्टर निकोला स्ट्रिटेन र भारतीय पत्रकार हरिश नाम्बियरलगायत रहेका छन् ।
वरिष्ठ साहित्यकार खगेन्द्र संग्रौलाले नेपाल साहित्य महोत्सव भेटघाट, मनोरञ्जन र विचारको उत्सवको थलो रहेको बताउँछन् । लेखकले पाठक भेट्ने र पाठकले आफ्नो मनपर्ने लेखक भेट्ने अवसर पनि सम्मेलन रहेको उनले बताए । सामाजिक सञ्जालले पुस्तक पढ्ने बानी कम गराइदिएको र यस्तो प्रवृत्तिबाट जोगाउने माध्यम भनेकै पुस्तक रहेको उनको धारणा छ ।
महोत्सवकाका निर्देशक अजित बरालले उमेरको हिसाबसँगै फेस्टिभलले आफ्नो उचाइ मात्र नभई विश्वास पनि बढाएको बताए । नेपाली र अन्य भाषा र भूगोलका साहित्यलाई एउटै मञ्चमा ल्याएर मन्थन गर्ने, स्रष्टा र पाठकबीचको दूरी कम गर्ने र फरक विचारहरूलाई उत्तिकै सम्मानका साथ स्थान दिने जस्ता लोकतान्त्रिक अभ्यास मजबुत बनाउने काममा फेस्टिभल उत्प्रेरक बनेको उनको भनाई छ ।
महोत्सवको उद्घाटनका प्रमुख अतिथि नेपालको शिक्षा क्षेत्रको विकासका लागि योगदान पुर्याएका जर्ज जोन र एलियाम्मा जाने रहेका छन् । महोत्सवको उद्घाटन समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी पनि सहभागी हुनुहुनेछ ।