गजलकार श्याम न्यौपानेलाई हेटौंडामा सम्मान
गुगलपाटी संवाददाताहेटौंडा–नवलपरासी स्थायी निवासी गजलकार डा. श्याम न्यौपानेलाई शनिबार हेटौंडामा सम्मानित गरिएको छ । गजल मञ्ज मकवानपुरले विशेष कार्यक्रमको आयोजना गर्दै गजल बिधाको उन्नययन र विकासमा योगदान गरेको भन्दै न्यौपानेलाई खादा ओढाएर कदरपत्रसहित सम्मान गरिएको हो ।
गजल, कविता, खण्डकाव्य, मुक्तक गरी करिब एक दर्जन कृति प्रकाशन गरिसकेका न्यौपानेलाई १५० औँ गजल यात्राको अवसरमा सम्मान गरिएको हो । मञ्चका अध्यक्ष देवराज तिवारी, साहित्य संगम मकवानपुरका अध्यक्ष निमेष निखिल, गीतकार तुल्सी घिमिरे लगायतले खादा, अबीर लगाएर सम्मानपत्र प्रदान गरेका थिए ।
कार्यक्रममा डा. न्यौपानेले आफ्नो एक दर्जन गजल सुनाएका थिए । उनले आफ्ना कृतिहरुमा प्रकाशित शृङ्गारिक तथा गैरशृङ्गारिक गजलहरु बाचन गरेका थिए । उनका गजलमा समाजक विकृति तथा विसंगतीप्रति असन्तुष्टी देखिन्न्थ्यो । कार्यक्रममा मञ्चका अध्यक्ष देवराज तिवारीले न्यौपानेका व्यक्तित्व र कृतित्वमाथि प्रकाश पारेका थिए ।
नियमित गजल बाचनको क्रममा प्रगतिशील लेखक संघ मकवानपुरका अध्यक्ष पुरुषोत्तम आचार्य, नवलपरासी साहित्य परिषद्का सहसचिव कृष्ण समर्पण, कोषाध्यक्ष तिलक भट्टराई, झरना साहित्यिक परिषद्का उपाध्यक्ष विश्वनाथ सञ्जेल, मञ्चका सदस्य सञ्जीत श्रेष्ठ, गजलकार अनिश न्यौपाने ‘भावना’ले गजल बाचन गरेका थिए ।
कार्यक्रममा साहित्य संगम मकवानपुरका अध्यक्ष निमेष निखिल, गीतकार तुल्सी घिमिरे, साहित्यकार ह्यग्रीव आचार्यलगायतले मन्तव्य व्यक्त गरेका थिए ।