परियोजना बैंक कार्यान्वयनको चरणमा : मुख्यमन्त्री पौडेल

गुगलपाटी संवाददाता
८ पुष २०७५ १२:२६

हेटौंडा ८ पुस । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले सुरु गर्न लागेको परियोजना बैकलाई छिट्टै नै कार्यान्वयनको चरणमा लगिने बताउनु भएको छ । आईतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भएको छलफलमा बोल्दै उहाँले पहिलो चरणमा प्रदेश सरकारले आफ्ना सातवटै मन्त्रालयले गर्ने कामका योजनाहरुलाई परियोजना बैंकमा राखेर मात्र कार्य प्रकृया अगाडि बढाईने बताउनुभयो ।

योजनाहरु हरेकका खल्तीबाट आउन लागेको भन्दै मुख्यमन्त्री पौडेलले परियोजना बैंकमा समाबेश योजनाहरुलाई प्राथामिकतामा राखिने बताउनुभयो । ‘परियोजना बैंक बनेपछि खल्तीबाट आउने योजनाहरुको अन्त्य हुनेछ’–मुख्यमन्त्री पौडेलले भन्नुभयो । व्यक्तिका खल्तीबाट आउने योजनाहरुलाई निरुत्साहित गर्दै संस्थागत योजनाहरु कार्यान्वयनमा परियोजना बैकको भूमिका महत्वपुर्ण हुने उहाँको भनाई छ । चालु आर्थिक बर्षका योजनाहरु सुरु भईसकेकाले आगामी आर्थिक बर्षमा परियोजना बैंकका योजनाहरु कार्यान्वयनमा लैजाने सरकारको तयारी छ । चालु आर्थिक बर्षभित्र नै परियोजना बैंक निर्माण गरी आगामी आवबाट लागू गर्ने गरी तयारी भएको राष्ट्रिय नीति तथा योजना आयोगका उपाध्यक्ष डा. खिमलाल देवकोटाले जानकारी दिनुभयो ।

बैंकको स्थापना पछि व्यक्तिगत स्वार्थ भन्दा पनि सामाजिक आबश्यकका आधारमा छनौट गर्ने र कार्यन्वनका चरणमा लैजाने पनि सरकारले योजना अगाडि सारेको छ । परियोजना बैंक योजना कार्यान्वयनमा विभिन्न समस्या हुने भन्दै प्रदेश सरकारले परियोजना बैंक स्थापनाको कार्यलाई तिब्रता दिन लागेको हो । परियोजना बैकको पहिलो चरणको खाका तयार पारेको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिब केबल भण्डारीले मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा प्रस्तुती समेत गर्नुभएको छ । कार्यक्रममा विभिन्न प्रदेशका मन्त्रालयका सचिबहरु समेत सहभागि थिए ।